उपनिर्वाचनको झटारो, १६ नंबरमा चटारो

चितवन / भरतपुर १६ ऐले निकै चटारोमा छ । धान काट्ने र स्याहार्ने चटारोमा रहेका स्थानीयलाई एकातिर उपनिर्वाचनले तानेको छ त अर्कातिर निर्माणाधीन क्रिकेट रंगशालाले । विभिन्न तहबाट विभिन्न शीर्षकमा परेका बजेट चलाउन उपभोक्ता समिति गठन गरेर विकासे काममा लाग्न भने आचारसंहिताले रोकेको छ ।
सत्तासीन दलका उम्मेदवार भक्तराज र प्रतिपक्षका उम्मेदवार अमृतराज हमालहरू आ–आफ्ना कार्यकर्ता लिएर घरदैलो गरिरहेका छन् । निर्वाचन परिचालन समितिबाट संचालित विभिन्न उपसमितिका कार्यकर्ता पनि मतदाता फकाउन हिंडेका छन् । मतदाताको गुनासो छ, तपाईंहरूले भनेकै ठाउँमा धेरैपटक भोट हालियो, तर उपलब्धि देख्न पाइएन । चुनावमा आउनुहुन्छ, अरु बेला देख्न पाइन्न । पार्टीका नेता कार्यकर्ताले फेरि पनि आश्वासन बाँड्दै छन् । तटस्थ बस्नेले भन्छन्,– यिनीहरू केवल समाज भाँड्दैछन् ।
स्थानीय चुनाव स्थानीय तहको विकासका लागि हो, यसमा किन चाहियो पार्टीको उम्मेदवार ? एउटा स्वतन्त्र, विकासप्रेमी र सक्षम व्यक्तिलाई वडाध्यक्ष चुन्नु पर्छ, त्यस्तो व्यक्ति कार्तिक २७ गतेको मनोनयनपछि देखिन सक्छ । चियागफ र चोकमा चल्ने यस्ता गफमा नेकपा समर्थकले भनेका छन्, अवकाशप्राप्त शिक्षक भक्तराज सर नै उहाँले भनेजस्तो सक्षम व्यक्ति हुनुहुन्छ । जसका हजारौं विद्यार्थी छन्, जो अनुभवले खारिएको छ र समाजमा उज्यालो छवी छ ।
नेपाली काँग्रेसका समर्थक अझ हौसिन्छन् र भन्छन्,– यस वडाका जनतालाई अमृतपान गराउन अमृतराजलाई उठाएका छौं । युवा जोश जाँगर, हिम्मत र उत्साह भएका अति मिलनसार, सहयोगी र विकासप्रेमी अमृतलाई १६ नं. को वडाध्यक्ष भन्न पाउनु यस वडावासीकै लागि गौरवको विषय हुनेछ, त्यसैले यसपालिलाई अमृतको विकल्प नहेरौं । यो वडा नेकपाले बहुमत देखेको, नेपाली काँग्रेसले अमृतजस्तो उम्मेदवार दिएको दावी गरिरहेका बेला दुवै पार्टीलाई तर्साउन अन्य दलबाट पनि उम्मेदवारी दिने तयारी भएको बुझिएको छ । साथै, कसै कसैले स्वतन्त्र उम्मेदवारी दिने संकेत पनि गरेका छन् । बहुमत देखेको नेकपा र ऐलेको परिस्थितिमा अमृतले जित्ने दावी गरेको काँग्रेसलाई हराउन तम्सिएर कोही होनहार र उम्मेदवार उदायो भने यी दुवै पार्टीका हमालद्वयलाई यो उपनिर्वाचन निकै महंगो सावित हुनेछ ।