माईत
सम्झनालाई संघालेर ल्याउँदा याद आउँछ ती मिठामिठा बालापनका सम्झनाहरु । बालपनदेखि सुरु भएका मेरा घरका दिदीबहिनी र भाइसँगका मिठासहरु । घरकी म माईली छोरी थिएँ, स्पष्ट भन्नु पर्दा म बुबाको प्यारी छोरी हामी चार सन्तानमा । सायद यो लेख्दै गर्दा जसरी म मुस्कुराउँदै थिए त्यसरी नै यो पढ्दा मेरा घरका सदस्यहरु अवश्य मनमनै भएनि मुस्कुराउने छन् । बालपनका ति हरेक यादलाई यसमा विस्तार गर्ने ईच्छा त छ तर त्यो सायद अर्को कुनै अंशमा लेख्ने छु । आज भने म मेरो पच्चिसौँ बसन्तमा फड्को मारेर केही कुरा लेख्ने जमर्काे गर्दैछु ।
मैले मेरो पच्चिसौँ बसन्त पार गरिसक्दा पनि हाम्रो नेपाली समाजका रितिरिवाजलाई अङ्गाल्दै मेरा ड्याडी–ममी (बुबाआमा)लाई छोडेर विवाह गरेर अरु कसैको घरमा जान्छु भन्ने सोचेकी थिइन् । जबकि मेरी दिदीको विवाह किशोर अवस्थामा भएको थियो । कसैले विवाहका बारेमा मप्रति गरेका प्रश्नको उत्तर बुबा आफैले भन्नुहुन्थ्यो रे ‘म मेरो माईली छोरीको विवाह गरिदिन्न् ।’ आज पनि यो वाक्याङस मेरो कानमा गुञ्जिरहन्छ । समयसँगसँगै मेरो यो विचारमा केही परिवर्तन आउन थाल्यो । सायद म अलि ठुली भएछु कि या ममा बुबाआमालाई छोडेर बस्न सक्ने साहसीपन आएछ । तर यो साहसीपन क्षण भरको मात्र होला भन्ने कल्पना समेत थिएन म मा । अन्ततः मैले विवाह गर्ने निर्णय गरेँ । विवाह पछिको मेरो यो जीवनमा ‘घर’ र ‘माईत’ भन्ने शब्द प्रहार हुन थालेका छन् ।
एकाएक मेरो आफ्नो घरलाई ‘माईत’ भनेर सम्बोधन हुनथाल्यो । अचम्म लाग्दो ! एउटा बिवाहले दुई व्यक्तिका सम्बन्धहरु मात्र परिवर्तन हुदैँनन् यहाँ त घरका नामहरु समेत परिवर्तन हुँदा रहेछन् । अहिले मैले मेरा दुईटा घरको बारेमा सोच्नुपर्ने हुन्छ, एउटाको मात्र होईन् ।
नेपाली समाजमा भनिन्छ, जहाँकहीँ मठमन्दिर गएर आउँदा प्रथम पटक आफ्ना मातापितालाई भेटेर फुलप्रसाद दिएर आशिर्वाद लिएर मात्र अन्य कामकाजतर्फ लाग्नुपर्छ । तसर्थ पहिला–पहिला म बाहिर कँही गएर फर्किदा ‘घर’ (जुन अहिले ‘माईत’ भनेर सम्बोधन गरिन्छ) जान्थे । तर यस पटक म ‘घर’ फर्के । प्रत्येक वर्ष म नौराथाको समयमा मठमन्दिर दर्शन गर्न जान्थे, फर्केर आउँदा प्रथम पटक बुमाआमालाई भेटेर फूल–प्रसाद दिएर मात्र अरुलाई भेट्थेँ । तर यस पटक म ‘घर’ मा फर्के । अजिब प्रकारको सकस मन र मतिष्कमा चलिरहेको थियो । भोलि पल्ट म फूल–प्रसाद लिएर बुबाममीलाई त भेटेँ । त्यहाँ सबै चिज उस्तै थियो तर पनि मेरो मनमा भने केही फरक जस्तो आभास भईरह्यो । म आफ्नै ‘घर’ मा पाहुना हुँ कि जस्तो महसुस भयो ।
धेरै मान्छेहरुले मसँगको कुराकानीमा तिमी ‘यता’ कि ‘उता’ छौ ? भनेर सोध्ने गर्छन् । सायद यो ‘यता’ भनेको ‘घर’ र ‘उता’ भनेको ‘माईत’ हुनपर्छ । तर म प्रत्येक पटक यो ‘यता’ कि ‘उता’ लाई ‘घर’ र ‘माईत’ भनेर छुट्याउन सकिरहेको छुईन । म त केवल दुईटै घरलाई एउटै सम्वोधन र उक्तिकै समय दिन पाउँ भन्ने ठान्छु । लाग्दैछ सायद म अब दुई ‘घर’ बीच बाँडिएको दुई व्यक्ति जस्तो भईरहेको छु । दुईटा ‘घर’ अनि ति ‘घरहरु’ सँग जोडिएका नातासम्बन्धहरु र त्यस ‘घर’का प्रत्येक चाडपर्वलाई एकै पटक संगाल्दै लग्ने मेरा मनदेखिका भरपूर्ण प्रयासहरु अझै चलिरहेको छ ।
कहिले काँही लाग्छ, सायद मेरै पुरानो जीवन नै सही थियो । अनि फेरि सोच्छु मेरो ममी र दिदीबहिनीलाई पनि त त्यस्तै भएको थियो होला नि ? तर मैले सोध्ने साहस पनि गर्न सकिन किनकि म त भरखरै ५÷६ महिना मात्र भयो यो परिस्थितिमा रुमलिएको । धेरै कुरा बल्ल झेल्दैछु÷बुझ्दै छु ।
सायद म यी नातासम्बन्धहरु अनि दुई ‘घर’ भित्र नै रुमलिरहेको छु । म मेरो ममि र दिदी–बहिनीले जसरी दुई ‘घर’ अनि ती ‘घर’सँग जोडिएका नातासम्बन्धहरुलाई सन्तुलन गर्दै लान प्रयासरत छु ।
सायद म जस्ता थुप्रै साथीसँगीहरु हुनुहुन्छ होला, जसले ‘माईत’ र ‘घर’ भनेर सम्बोधन गर्न सहजता ठान्नु भएको छैन होला । त्यही भएर होला म मेरा यी दुई ‘घर’लाई ‘घर’ नै भनेर सम्बोधन गर्नेछु ।