मन्त्रिपरिषद पुनर्गठनको तयारी
कुन–कुन मन्त्री हट्दैछन् र को–को नयाँ आउँदैछन् ?
काठमाडौं । यहि हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन । लामो समयदेखि मन्त्रिपरिषद हेरफेर गर्ने भनेपनि त्यसले मुर्त रुप पाउन सकेको थिएन । कारण थियो नेकपाको एकिकरण प्रक्रियाले मुर्त रुप पाउन नसक्नु । हाल पार्टी एकिकरणको सम्पुर्ण प्रक्रिया पुरा भइसकेको छ । यसै साता मन्त्रिपरिषद हेरफेर गरेर थप स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली बिदेश जान लागेका हुन । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनलाई मध्यनजर गर्दै सकेसम्म छिट्टै मन्त्रिपरिषद हेरफेर गर्न नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच लगभग सहमति जटिसेकेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा ठूलै हेरफेर गरेर सरकारलाई पाँच वर्षसम्म लोकप्रिय बनाउने कार्ययोजना तयार गर्न थालेको बताइन्छ । सोही अनुसार नयाँ मन्त्रीहरूको सूची तयार गरिएको प्रधानमन्त्री निकट सुत्रले वताएको छ । सिंगापुरमा उपचार गर्न जानुअघि धेरै कुरा मिलाएर लामै विदामा बस्ने सोच बनाएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अहिले विभिन्न नेता, कार्यकर्ता र महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् ।
सबै मन्त्रीहरूलाई सामुहिक राजीनामा दिन लगाएर राम्रो काम गरेका केही पुराना मन्त्रीसहित अरु नयाँ ल्याउने वा कुन मन्त्रीलाई हटाउन खोजिएको हो उनीहरूलाई मात्र राजीनामा दिन लगाएर नयाँ ल्याउने भन्ने दुवै विकल्पबारे छलफल भइरहेको प्रधानमन्त्री निकट बालुवाटार स्रोतले बताइएको छ । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसँग यो बिषयमा छलफल गरेर हटाउने र थप्ने मन्त्रीको सूची तयार गरेको प्रधानमन्त्री निकट स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीको झण्डै दुईतिहाइ बहुमतको सरकार बनेको करिब १ वर्ष ९ महिनापछि मन्त्रिपरिषदमा ठूलै हेरफेर गर्न लागेका छन् ।
प्रधानमन्त्रीले गर्न खोजेको काम सरकारको लोकप्रियताका लागि मात्र नभएर राष्ट्र तथा जनताको हितमा भएकाले योग्य व्यक्तिहरुलाई चयन गरेर जिम्मेवारी दिनुपर्ने माग अहिले सर्बत्र उठिरहेको छ । तर पार्टीभित्र आन्तरिक समायोजन र सन्तुलन मिलाउन पनि दुवै अध्यक्षलाई त्यतिकै कठिन भएको छ । हाल सरकारमा उपप्रधान एंवम स्वास्थ्य मन्त्री रहेका समाजवादी पार्टीका उपेन्द्र यादवले सरकार छाड्ने कि नछाडने भन्ने निर्णय गरिनसकेकोले पनि मन्त्रिपरिषद हेरफेरमा केही ढिला भएको बताईन्छ । यद्यपी सो दलले सरकार नछाडने निश्चित प्राय भईसकको छ ।
हाल डाक्टरले थोरै बोल्न र धेरै आराम गर्नु भने पनि प्रधानमन्त्री ओली काममा नै बढि व्यस्त भइरहेका छन् । गत हप्ता निकै सक्रिय रहेका प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र आफ्ना पार्टीका नेताहरु माधव नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, गोकुल बास्कोटालगायतका नेताहरुसँग विभिन्न विषयमा छलफल गरेको बताइएको छ ।
झण्डै एकबर्ष पुग्नलाग्दा समेत नेकपाको स्थायी समिति वैठक बस्न सकिरहेको छै । स्थायी समितिको बैठक बस्न नसक्दा पार्टीका कैयन् विषय त्यतिकै थाति बसेका छन् भने व्यक्तिगत रुपमा सरसल्लाह गरेपनि संस्थागत निर्णय गर्न पार्टीकै वैठक बस्नुपर्ने पार्टी परम्परा रहेको छ । मन्त्रिपरिषद्मा हेरफेर गर्नेदेखि कूटनीतिमा सुधार गर्ने, सुरक्षा व्यवस्थालाई राम्रो बनाउने र राजनीतिक स्थायित्वका लागि अझ जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने निष्कर्शमा प्रधानमन्त्री ओली पुगेका छन् । तर पार्टी भित्रका विभिन्न गुट, उपगुटले सहयोग नगर्दा वितेको २० महिनामा पनि उल्लेखनीय काम हुन नसकेको आम नेता, कार्यकता र जनताको ठहर छ । को ठिक र को वेठिक भनेर व्यक्तिगत रुपले चियो चर्चा गर्नुभन्दा कार्य नीतिमा के ठीक र के वेठीक भन्ने विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने उनीहरुको सुझाव रहेको छ ।
प्रधानमन्त्रीले गर्न खोजेका राम्रा कामका बारेमा पनि पार्टी भित्रैबाट पर्याप्त सहयोग नभएको कुरा अहिले बाहिर आएका छन । नेताहरु माधव नेपाल, झलनाथ खनाललगायत माओवादी कित्ताबाट समेत सहयोग नपाएको गुनासो प्रधानमन्त्री ओलीले आफु निकटका मन्त्री तथा नेताहरुसँ गुनासो गर्ने गरेको एकमन्त्री नाम उल्लेख नगर्ने शर्तमा बताएका छन । यी सबै कुरालाई अनुभवका रुपमा लिएर प्रधानमन्त्रीले नयाँ चुस्त टिम बनाएर आफ्ना कार्यक्रमहरु लागू गर्न मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन ।
को–को हट्दैछन् ?
प्रधानमन्त्री ओलीले आशा गरे अनुसार काम नगरेको भन्दै उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानी मन्त्री बिना मगर र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई हटाउन लागेको बुझिएको छ ।
प्रधानमन्त्रीले राम्रो कार्य सम्पादन गरेको भन्दै निरन्तरता दिने तयारी गरेका मन्त्रीहरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, अर्थमन्त्री डा. युवराज खतिवडा र कानुनमन्त्री भानुभक्त ढकाल छन् । यस्तै गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा मन्त्री गोर्कण बिष्टको कामप्रति प्रधानमन्त्री सन्तुष्ट रहेको बताइए पनि जिम्मेवारी भने हेरफेर हुने भएको छ ।
को–को हुदैंछन मन्त्री ?
प्रधानमन्त्री ओलीले पुनर्गठित मन्त्रिपरिषदमा घनश्याम भुषाल, अग्नि सापकोटा, जनार्दन शर्मा, महेश बस्नेत, बिशाल भट्टराई, पम्फा भुषाल, शिबमाया तुम्वाहाम्फे, देबेन्द्र पौडेल, छबिलाल बिश्वकर्मा, भीम रावल, रामेश्वर यादब, प्रभु शाह, देब प्रसाद गुरुङमध्येबाट नै मन्त्री बनाउने तयारी भइरहेको छ ।