कांग्रेसले देखायो सरकारका २१ खोट
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको २१ महिनाको मूल्यांकन गर्दै २१ खोट लगाएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीले सार्वजनिक प्रतिवद्धतापत्र जारी गर्दैै त्यस्तो धारणा बनाएको हो । कांग्रेसले राष्ट्रियताको मामिलामा उच्चस्तरको पहल नभएको, संविधानप्रति सबैको अपनत्व नदेखिएको, सत्ताको सैद्धान्तिक चरित्र नदेखिएको र प्रदेशको नाम र राजधानी तोक्ने समेत सरकार असफल भएको आरोप लगाएको छ ।
यस्तै कूटनीतिक मामिलामा सरकार अपरिपक्व भएको, प्रतिवन्धित पार्टी नेकपाप्रति सरकारले लिएको निषेधको बाटोले द्वन्द्व अरु बढाएको, महंगी बढेको, निर्मला हत्या प्रकरण सेलाएको, भ्रष्टाचारका कारण सरकार गन्हाएको र बुढीगण्डकीलगायतका आयोजना चिनियाँ कम्पनीलाई दिनु राष्ट्रघाती भएको कांग्रेसले आरोप लगाएको छ ।
यस्तै कांग्रेसले ल्याएको सामाजिक सुरक्षा कोषलाई वर्तमान सरकारले आफ्नो बनाउन खोजेको, वालुवाटारको जग्गा टुंगो नलागेको, शेयरबजार ओरालो लागेको, सत्तारुढ दल अलोकतान्त्रिक हुँदै गएको, होलीवाइन प्रकरण जस्ता काण्डमा सरकार वद्नाम भएको, प्रेस स्वतन्त्रता निमोठ्न खोजेको, सम्वैधानिक परिषद् निकम्मा बनाइएकोलगायतका आरोप पनि कांग्रेसले लगाएको छ ।
कांग्रेसले लगाएका सवै आरोप कति वस्तुनिष्ट छन् भन्ने कुरामा विभिन्न कोणबाट छलफल गर्न सकिने वताउँदै राजनीतिक विश्लेषकहरुले यसले सत्तारुढ दल र कांग्रेसबीच अरु दुरी बढाउने सम्भावना रहेको औल्याएका छन् ।
कांग्रेसले पार्टीले आफ्नो प्रचार भन्दा पनि नेकपाको दुष्प्रचारका लागि मात्र समय खर्च गरेको विश्लेषकहरुको तर्क छ । कांग्रेसले उपनिर्वाचनमा विजय भयो भने कुन ठाउँमा केके गर्छ भनेर स्पष्ट नगरेर विगतकै गल्ती दोहोर्याएको कांग्रेसकै कतिपय नेताहरुको गुनासो छ ।