जुरे पहिरोको ४ वर्ष पूराः पीडितले अझै राहत पाउन सकेनन्
सिन्धुपाल्चोक: १७ साउन २०७१ गते राती २ बजे जुरेमा पहाडै खसेको थियो ।
राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ जनाले ज्यान गुमाएका थिए भने धेरैजना घाइते र अंगभंग भएका थिए । ।
पहाड नै खसेपछि १४ घण्टासम्म सुनकोशी थुनियो । सयौंको घरवास उठ्यो । सुनकोशी मात्रै बगेन स्थानियका आँशु पनि बगिरहे ।
सुनकोशी विपत्तिको चार वर्ष भएको छ तर त्यहाँका स्थानियको अनुहारमा नत हाँशो नै छ न घरबास नै । पहिरोमा काँस त पलायो, तर पीडितका मनमा खुसी पलाउन सकेको छैन । यही समयकोबीचमा पहिरोस्थलबाटै सडक छिचोलियो, पहिरोमाथि सवारीसाधन गुड्न थाले ।
पीडितको नाममा संकलन भएको साढे २ करोड जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा भएको छ । तर पीडितहरु अहिले पनि कहाँ गएर बस्ने भन्ने अन्यौलमा बस्न बाध्य छन् ।
जसरी पहिरोमा मानिसहरु हराए, त्यसरी नै पहिरो पीडितका नाममा संकलित २ करोड २४ लाख राहत रकम हराइरह्यो । पहिरो पीडितको राहत रकम सरकारले नै ‘कब्जा’गरिरहेपछि पटक पटक पीडितहरु जिल्ला प्रशासन कार्यालय धाए, गृह मन्त्रालयसम्म पनि धाए तर जसका नाममा पैसा संकलन भयो, उनीहरुले नै पाएनन् ।
पहिरो पीडितले क्षणिक रूपमा राहत त पाए, तर दीर्घकालीन व्यवस्थापनका लागि कुनै प्रयास हुन सकेको छैन । सरकारी उदासीनताका कारण विस्थापितहरुको पुनर्वासको व्यवस्था हुन नसकेको हो ।
पीडित/विस्थापित सबैको पीडा उस्तै छ । एकातिर परिवार गुमाउनुको पीडा त छँदै छ, चार वर्ष बितिसक्दा पनि बासको व्यवस्था नहुँदा उनीहरुमाथि अर्को पीडा पहाडझैं उभिएकोे छ ।
पहिरो पीडितले क्षणिक रूपमा राहत त पाए, तर दीर्घकालीन व्यवस्थापनका लागि कुनै प्रयास हुन सकेको छैन । सरकारी उदासीनताका कारण विस्थापितहरुको पुनर्वासको व्यवस्था हुन नसकेको हो ।
चार वर्षसम्म सरकारी खातामा जम्मा भएर बसेको रकमको आशमा बाँचेका अधिकांश पहिरो पीडितले दैवीप्रकोप उद्धार समितिसँग घर घडेरीकै माग गरेका छन् । कतिपयले भने रकम नै वितरण गर्नुपर्ने बताउँदै आएका छन् ।