भरतपुर १६ को चुनाव : मतदातालाई तनाव
घरदैलोमा सबैलाई, मतपत्रमा कस्लाई
चितवन÷मतदानको मिति नजिकिएसँगै भरतपुर १६ मा चुनावी सरगर्मी बढेको छ । वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका पार्टीका कार्यकर्ता बिहानदेखि बेलुकासम्म चुनावी प्रचारमा खटिएका छन् । उम्मेदवारहरू ज्यूहजुर गर्दै घरदैलो धाएका छन् । न बिहान समयमा खानु छ न बेलुका । कार्यकर्ताले दिउँसोको खाजा घरदैलोमै खान पाएका छन् । कसको प्रचार पछि हिंड्दा मीठो खान पाइन्छ भनेर धाउनेको पनि कमि छैन । कोही खानकै लागि हिंडेका छन्, कोही देखिनका लागि भिडेका छन् त कोही कसैसँग भेटिनका लागि खटेका छन् । कोही मरिमेटेर डटेका छन् । कोही खान पाएपछि हटेका छन् ।
नेपाली काँग्रेसको प्रचारमा हिंडेका एक कार्यकर्ताका अनुसार अहिले यहाँको माहोल अमृतको पक्षमा अनपेक्षित रुपमा सकारात्मक छ । घरदैलो कार्यक्रममा अमृतलाई टीकार मालासहित आशिर्वाद दिन पाका मतदाता उत्साहपूर्वक हतारिएको पाइयो । युवाहरूले युवा उम्मेदवार हाम्रो छनोट भएकाले अमृतको पक्षमा खुलेर लागेको बताए । सामाजिक क्रियाकलापमा निरन्तर योगदान दिइरहेका सहयोगी, मिलनसार र विकासप्रेमी अमृतलाई के महिला के पुरुष सबैले उत्तिकै रुचाएको पाएँ । अहिले यो वडाका काँग्रेसमा अमृतको उम्मेदवारी सर्वसम्मत भएकाले काँग्रेसको मत रुखबाहेक अन्त नजाने निश्चित छँदैछ । त्यसबाहेक आपूm काँग्रेस नभए पनि अमृतका लागि भोट मागेको बताउने युवायुवतीको कमि देखिएन । आ.व. ०७६÷७७ का लागि वडाले विनियोजन गरेको बजेट अन्यायपूर्ण भएको रिस पोख्न अमृतलाई भोट दिने हो भन्दै एकथरी कस्सिएका छन् । विगत दुई वर्षदेखि नै प्राथमिकताको पहिलो सूचिमा राखिएको छहारी चोकबाट शान्ति चोक जोड्ने बाटोलाई त्यो सूचिबाट उछिट्याएर बजेट नै नपारेको झोंकमा छन् यो बाटोको चासो राख्नेको एउटा जमात । हामीलाई पार्टीसँग मतलब थिएन र छैन तर सबै नेकपाका जनप्रतिनिधि भएको यो वडामा गलत तरिकाले बजेट विनियोजन भइरहेको चित्त दुखाइ अहिलेको मताधिकार प्रयोगबाट देखाउँछौं केही युवाहरूले भने ।
अर्काथरी इन्द्रबहादुर बस्नेतले टिकट नपाएको खारमा अमृतलाई जिताउन भित्र भित्र रौसिएका छन् । पार्टीमा मरिमेटेकालाई टिकट नदिने पैसावाल र नयाँ नयाँ मान्छे खोज्दै टिकट दिने पार्टीलाई किन भोट दिने अब हाम्रो भोट सर्वसम्मत उम्मेदवार अमृतलाई नै जान्छ भन्ने पनि सुन्न पाइएको छ । पहिले नाम चतुरमान व्यवहारमा अत्यन्त सोझो मानिसलाई टिकट दिएर नचाएका एमालेले अहिलेको नेकपामा अष्ट्रेलियाको भिसा लागेर बस्नुभएका भक्तराज हमाल सरको नाम जपाउने अनि आपूm खुशी काम गर्नलाई उहाँलाई अष्ट्रेलिया धपाउने खेल हो त्यसैले हाम्रो मत अमृतलाई नै जान्छ भनेका छन् । अघिल्लोपटक अमृतलाई दिन नपाएकाले पनि पश्चाताप पखाल्न अमृतलाई नै दिने निधो गरेका छन् । नेकपाको उम्मेदवारको भन्दा नेकपाकै क्रियाकलापसँग रुष्ट भएको ठूलो जमातले नेकपाको सेखी झार्नका लागि अमृतलाई दिने मनस्थिति बनाएको पाइयो । हिजो जुन मान्छे चाहिन्न भन्दै कार्वाही गर्न उक्साउने काम भयो आज त्यहीँ मान्छे नभई चुनावी पार्टी नै परिचालन नहुने अवस्था भएको पार्टीलाई किन भोट दिने ? यी र यस्ता कैयन् प्रश्न उठाउँदै नेकपाको पार्टी पंक्ति भित्रैबाट अमृतको पक्षमा माहोल रोमाञ्चक बन्दैछ ।
घरदैलो कार्यक्रममा कतिपय मतदाताले आफ्नो भेग विकास र चेतनाले पछि परेको अरु बेला वास्ता नगर्ने, चुनाव आउँदा मात्रै देखिने नेताहरूलाई भोट दिन नजाने रोष पनि प्रकट गरे । कस्लाई भोट दिएर के पो भयो र ? हामीले बेकारमा किन भोट दिने भन्ने मतदाता पनि निस्किए । कसै कसैले हामी पार्टी सार्टी जान्दैन अमृतलाई जानेको छ अमृतलाई दिन्छ पनि भने । कोहीले भने जस्लाई दिए पनि हमालले नै जित्ने रैछ, म त दुइटै हमाललाई दिन्छ कुन हमालले जितेर के कमाल गर्छ मैले घरै बसेर हेर्छ पनि भने ।
देशका सीमित ठाउँमा मात्र चुनाव भएकाले वडाका चुनावमा पनि केन्द्रीय नेता आएर भाषण गर्न भ्याएका छन् । म्याजिक र अटोहरूसँगै मोटरसाइकलमा रंगी विरंगी झण्डा फर्फराउँदै गीत र नारा घन्काउँदै हिंड्दा १६ नं. वडालाई ध्वनी र वायु प्रदूषणले सताएको छ । बिहान एउटा पार्टीको उम्मेदवारले फकाएको मतदातालाई दिउँसो अर्को गएर पट्ट्याएको छ राति अर्को गएर अत्त्याएको छ । मंसिर १४ मा चुनाव छ, १६ नं. वडालाई तनाव छ, घरदैलोमा सबैलाई हुन्छ भन्ने मतपत्रमा कस्लाई मन छुन्छ भन्ने थाहा नपाएका मतदाताको मत नै निर्णायक हुने विश्लेषकहरूको अभिमत छ । मतदाता हैरान भइसके तर कार्यकर्तामा उत्साह जारी नै छ । जित्ने रन्कोले मन भारी नै छ । राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टीका कार्यकर्ताले पनि आ–आफ्ना पार्टीका डम्फु बजाउँदै दगुरेका छन् । अहिले यो वडा १४ गतेसम्मलाई निकै व्यस्त छ । जस्ले जे दाबी गरे पनि अन्तिम नतिजा के हुन्छ कोही मानिस नतिजा पर्खिनमै मस्त छ ।