मुस्ताङको युरेनियममा विश्वको चासो

राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालमा रहेको युरेनियम पदार्थ भण्डारमा चासो देखाउँदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्न चाहेको चर्चा चलिरहेका बेला राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणमा निम्त्याउन राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो बोकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार मस्को उडेका छन् ।
नेपाल सरकारले पुसमा आयोजना गर्न लागेको सगरमाथा अन्तर्राष्ट्रिय डाइलगको अवसरमा राष्ट्रपति पुटिनलाई निमन्त्रणा गर्न लागेको बताइएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सम्पन्न भएपछि रुसी राष्ट्रपति पुटिनको भ्रमण पनि गराउन सरकारले पहल थालेको हो ।
ग्लोवल वार्मिङ मुख्य विषय राखेर आयोजना गर्न लागिएको सगरमाथा डाइलगमा रुसी राष्ट्रपति आएर सम्बोधन गरे नेपालको पहल अन्तर्राष्ट्रिय रुपमा स्थापित हुने सरकारको विश्वास छ ।
सोभियत संघको विघटनपछि औपचारिकतामा सीमित भएको रुससँगको सम्बन्ध सुधार गर्ने पहल अन्तर्गत आठ वर्षपछि नेपालका परराष्ट्रमन्त्रीले रुस भ्रमण गरेको परराष्ट्र स्रोतले बताएको छ । सन् २०११ मा तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरेका थिए भने त्यसअघि सन् १९९२ मा रुसका तत्कालीन परराष्ट्रमन्त्री नेपाल आएका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले मंसिर १० गते रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग भेटवार्ता गर्ने बताइएको छ । सो अवसरमा दुई देशबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्झौता पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्री ज्ञवाली सर्विया पनि जाने कार्यक्रम रहेको बताइएको छ, जहाँ उनले उपप्रधान तथा विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा विविधिकरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नीति अनुसार सरकारले शक्ति राष्ट्रका रुपमा आफुलाई पुनःस्थापित गरिरहेको रुससँगको सम्बन्ध सक्रिय बनाउन खोजेको हो ।
शीतयुद्धको समयमा रुसले एक पक्षीय रुपमा नेपाललाई सहयोग गर्ने गरेको थियो । जनकपुर चुरोट कारखाना, कान्ति बालअस्पताल, पनौति जलविद्युत आयोजना, पूर्व–पश्चिम राजमार्गको पथलैया खण्ड, कृषि औजार कारखाना, वीरगञ्ज सुगरमील, पश्चिम नेपालमा टर्पेन्टाइन प्लान्ट रुसकै सहयोगमा निर्माण हुन् । त्यसैगरी चिकित्सा र इन्जिनियरिङका सयौं नेपाली विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराएको थियो ।
युरेनियममा विश्वको चासो
नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न रुसले चासो देखाएको स्रोतको दावी छ । इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ ।
खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ ।
युरेनियम जस्तो महत्वपूर्ण वस्तुका बारेमा संयुक्त राष्ट्रसंघदेखि अमेरिका, रसिया र चीनले समेत चासो दिएको हुँदा युरेनियम भण्डार भविष्यमा विदेशीको कलहको बीऊ हुन सक्ने टिप्पणी पनि हुन थालेको छ । यसतर्फ सरकारले बेलैमा चनाखो हुनुपर्ने देखिन्छ ।
युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचिमा पर्ने रसियाले नेपालको युरेनियममा चासो देखाउँदा त्यसले चीन, भारत, अमेरिका जस्ता मुलुकलाई समेत झस्काउन सक्ने देखिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी एवं संयुक्त राष्ट्रसंघलगायतका संस्थाले समेत त्यसबारे सुक्ष्म दृष्टि राख्न सक्ने सम्भावना बढ्दै गएको सुरक्षाविद्हरु बताउँछन् ।
पुटिनको भ्रमणका बेला नेपाललाई तीन खर्ब रुपैयाँको सफ्ट लोन दिने तयारी समेत भएको बताइएको छ ।