ओलीकै छायाँमा दाहाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार र पार्टी सञ्चालनमा भागवण्डा भएको छ । ओलीले पाँच वर्ष सरकार सञ्चालन गर्ने र दाहालले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने सहमति भएको छ । यसले सरकारको नेतृत्व कहिले परिवर्तन हुने हो भन्ने अन्यौल हटेको छ भने नेकपा नेता, कार्यकर्ताहरुमा रहेको केही अन्यौल पनि अन्त्य भएको छ ।
अठार महिना अघि नै अध्यक्ष भनिएका पुष्पकमल दाहाललाई बुधबार बसेको नेकपाका सचिवालय वैठकले कार्यकारी अध्यक्ष मान्ने निर्णय गरेको हो । तर वरियताक्रममा ओली नै अगाडि रहेका छन् । झट्ट सुन्दा ठूलो सहमति भएको र दाहालले ओलीलाई झुकाएको जस्तो सन्देश गएपनि दाहाल ओलीको छायाँबाट मुक्त हुन सकेको देखिदैन ।
कार्यकारी अध्यक्ष बनाएपछि दाहालले आफूलाई प्रम तथा अध्यक्ष केपी ओलीले पत्याएको ठान्न थालेका छन् । विगतको १८ महिनासम्म आफू कार्यकारी जस्तो नभएको बताउँदै दाहालले आफू प्रधानमन्त्री हुन नहतारिएको समेत बताएका छन् । ओलीसँगको सम्वन्ध पुरानो भएको बताउँदै दाहालले द्वन्द्वकालमा पनि उहाँसँग कुरा भइरहन्थ्यो भनेका छन् ।
संविधानसभा भंग गर्न विदेशीले दवाव दिँदा पनि आफूहरुले रोकेका दावी गर्दै उनले अध्यक्ष ओली र आफूले सहमति गरेर तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई पहिले संविधान बनाऔं त्यसपछि राष्ट्रपति छानौला भन्ने सुझाव दिएको पनि दाहालले बताएका छन् ।
तर ओलीले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता पछि दाहाल खिस्रिक्क परेको देखिएको छ । आफू बरिष्ठ भएकाले पार्टीको मर्यादाक्रममा सवैभन्दा माथि रहेको ओलीले बताएका छन् । दाहालसँग सरकार चलाउने विषयमा केही छलफल गर्ने र पार्टीका काममा दोस्रो वरियताको अध्यक्ष मानेर भूमिकामा स्वीकार गर्ने ओलीको अभिव्यक्तिले दाहाल सशंकित भएका हुन् ।
पार्टीका केही नेताले दाहालको इज्जत वचाउन उनलाई कार्यकारी अध्यक्ष भनिएको टिप्पणी गरेका छन् ।
सचिवालयको निर्णयमा पनि पार्टीको वैठक सहमतिमा बोलाउने र निर्णय पनि सहमतिमा गर्ने भनिएको छ भने वैठक अघि अध्यक्षको अनुमति लिनुपर्ने, वैठकपछि अध्यक्षलाई व्रिफिङ गर्नुपर्ने भनिएको छ । दाहालले सशर्त कार्यकारी अध्यक्षका जिम्मेवारी पाउनुले अझै पनि दाहाललाई ओलीले लतार्ने देखिन्छ । हालै भएको कार्यविभाजनले ओलीले पाँच वर्षसम्म एकलौटी सरकार चलाउन पाएका छन् भने दाहालले त्यसरी पार्टी चलाउने अधिकार पाएका छैनन् । ओलीसँगको सम्बन्धलाई सन्तुलनमा नराखी उनी सफल हुन सक्ने देखिन्दैन ।
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका केही पूर्व एमाले नेता र पूर्वमाओवादी नेताहरुले प्रचण्डलाई कार्यकारी अध्यक्षका रुपमा स्वीकार्लान् । तर पूर्वमाओवादीका केही नेता र एमालेको ठूलो पङ्ती उनको विपक्षमै देखिन्छ । उनीहरुको मन जितेर अघि बढ्न प्रचण्डका निम्ति ठुलै चुनौती देखिन्छ । तर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँगको सम्बन्ध सन्तुलित र विश्वासयोग्य बनाउन सके भने प्रचण्डका निम्ति केही सहज हुने देखिन्छ ।
नेकपाभित्र शीर्ष नेताहरुका छुट्टाछुट्टै शक्तिशाली गुट छन् भने गुटभित्र पनि उपगुटहरु छदैछन् । एमालेभित्र ओलीबाहेक, महाधिवेशन देखिकै माधवकुमार नेपालको प्रभावशाली गुट छ । त्यत्तिकै शक्तिशाली नभएपनि आन्तरिक राजनीति र समिकरणलाई बेलाबेला उलटपालट पार्ने नेताका रुपमा चिनिने वामदेव गौतम वरिपरि एउटा समूह छदैछ । ओली र नेपाल गुटभित्रै पनि छुट्टाछुट्टै उपगुटहरु निकै सक्रिय छन् । त्यसलाई व्यवस्थापन गरेर केन्द्रदेखि तल्लो तहसम्म पार्टी पद्धतिअनुसार सञ्चालन गर्नु निकै चुनौतिपूर्ण छ ।
नेकपामा महाधिवेशनका लागि नेताहरुबीच शक्ति सञ्चय शुरु भइसकेको छ । पार्टीको केन्द्रदेखि तल्लो कमिटीसम्म एकता र जिम्मेवारीमा भएको हानाथाप त्यसकैको तयारी हो । महाधिवेशनको रस्साकस्सीका बेला सबै प्रतिस्पर्धीले तत्कालीन जोडघटाउ हेरेर आफ्ना आ–अश्त्र प्रयोग गर्न सक्छन् । भातृ संगठनहरुको संरचना पूर्ण रुपमा निर्माण भइसकेको छैन । ठूला भातृ संगठनमा जिल्लाका नेतृत्व तोक्नेमा राष्ट्रिय युवा संघ मात्रै रहेको छ । कतिपय भातृ संगठनको केन्द्रीय समिति समेत बन्न सकेको छैन । पार्टीका केन्द्रीय नेतालाई विभाग तोके पनि अन्य सदस्यहरु चयन भएकै छैनन् । कुनैपनि भातृसंगठनका संरचनाले पूर्णता पाएका छैनन् । पार्टीको जिल्ला कमिटीहरुमा विवाद उत्तिकै छरपष्ट छ । प्रदेश दुईको समस्या सबैभन्दा जटिल छ ।
एकता महाधिवेशनबाट वैचारिक लाइन प्रष्ट पार्ने भनेर नेतृत्वले सैद्धान्तिक विषय सल्टाउनुको साटो पर सारेपछि अहिले दुवै पक्षका कार्यकर्ता वैचारिकरुपमा अन्योलमा छन् । जतिजति महाधिवेशन नजिकिँदै गर्छ, त्यति नै वैचारिक विषय मुखर भएर आउनेछ । एमालेको ठूलो पंक्ति जनताको बहुदलीय जनवादसँग भावनात्मक रुपमा जोडिएको छ भने सशत्र विद्रोहबाट आएका माओवादी कार्यकता पंक्तिमा जनयुद्धको धङधङ्गी बाँकी नै छ । यो विषयले कुनै पनि मोडमा संवेदनशील वा आक्रामक रुप लिनसक्छ ।
ओली र दाहालको समझदारीका बारेमा सचिवालय वैठकले गरेको निर्णय भन्दा पनि आउँदा दिनहरुमा माओवादी र एमाले पृष्ठभूमिका नेताहरुले कसरी एकतावद्ध भएर काम गर्छन् भन्ने कुरामा सो पार्टीको सफलता निर्भर गर्छ ।