पेचिलो बन्दै नेपालको कूटनीति

काठमाडौं । नेपालका लागि आउँदा दिनहरु कूटनीतिक दृष्टिले निकै पेचिलो हुने देखिएको विश्लेषण गर्न थालिएको छ । कूटनीति अन्यौल भएमा राजनीति समेत प्रभावित हुने सम्भावना बढेको विश्लेषकहरुको तर्क छ । अमेरिकाले अघि सारेको परियोजना र चीनको ओविओआर परियोजना जस्ता आर्थिक र रणनीतिसँग जोडिएका विषय प्रत्यक्ष रुपमा कूटनीतिसँग गाँसिएको छ । यसले गर्दा नेपालमा आफू अनुकुलको सरकार बनाएर वाह्य शक्तिले आआफ्ना स्वार्थसिद्ध गर्न प्रयास गर्न सक्ने सम्भावना अरु बढेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
चीन सहितका मध्य एसियाली मुलकुहरुसँग सहयोग बढाउन स्थापना गरिएको सांघाइ कोअपरेशन संगठन (एससीओ) पछिल्लो समय चर्चाको विषय बनेको छ । नेपालले त्यसको सदस्य बन्न इच्छा जाहेर गरेको छ । पारवहन, व्यापार, पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा क्षेत्रीय सहकार्य बढाउन यसबाट मद्दत पुग्ने भनिएको छ ।
राजा वीरेन्द्रलगायत दक्षिण एसियाका चर्चित नेताहरुले स्थापना गरेको सार्क विमस्टेक गठन पछि ओझेलमा परेको छ । यस्तै नेपालले सांघाइ कोअपरेशन संगठनको सदस्यता लिएर चीनसँग निकटता देखाउन चाहेको कुरालाई पुराना कूटनीतिज्ञहरुले आफ्नै ढंगले विश्लषण गरेका छन् ।
जसले जता बोलाए पनि जाने बानी त्यागेर राष्ट्रिय आवश्यकता हेर्नुपर्ने उनीहरुको तर्क छ । भारत र पाकिस्तान पनि सन् २०१७ देखि एससीओका पूर्ण सदस्य छन् । पश्चिमा राष्ट्रहरुले खासै प्रतिक्रिया नजनाए पनि चीन र रुस जस्ता सुपर पावर पनि सदस्य भएकाले अमेरिका यसप्रति सशंकित देखिन्छ ।
एक विश्लेषक भन्छन् “कूटनीतिक सन्तुलनका लागि वचन र व्यवहारमा समन्वय हुन आवश्यक छ । तसर्थ कुनै पनि किसिमको निर्णय गर्दा राष्ट्रहित अनुकुल हुन्छ कि हुँदैन भन्ने बारेमा गम्भीर चिन्तन–मनन गर्नुपर्छ ।”