धुर्मुसले गरे व्याड्मिन्टन कोर्टको शुभारम्भ
चितवन÷रंगशाला व्याड्मिन्टन क्लबको दोस्रो कोर्ट शुक्रबार धुर्मुसले उद्घाटन गरे । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा निर्माण भएको दोस्रो कोर्टमा पहिलो सर्भिस गरेर धुर्मुसले उद्घाटन गरेका हुन् । क्लबका एक सदस्य दिपेन्द्र थापाका अनुसार रंगशाला परिसरभित्र व्याड्मिन्टन खेल्नेको आकर्षण बढ्दै गएपछि अस्थायी भएपनि कोर्ट थप्नु परेको हो । यस क्लबमा किशोरदेखि ५० ‘ओभर एज’का व्याड्मिन्टनमा उत्सुक व्यक्ति थपिने क्रम जारी छ । प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठको कमाण्डमा रंगशाला वरपरको सुरक्षार्थ खटिएको नेपाल प्रहरीको एक टिम, धुर्मुस सुन्तली फाउण्डेशनको टिम र स्थानीय गरि करिब ३० जना यस क्लबको सदस्य भइसकेका छन् ।
यसैगरी शुक्रबार क्रिकेटको डोमेन ग्राउण्डमा पहिलो म्याच पनि सम्पन्न भएको छ । कृषि क्याम्पस रामपुरका पाँचौं र छैठौं व्याचबीच भएको उक्त खेलबाट रंगशाला निर्माणार्थ धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ हजार रुपैयाँभन्दा बढी सहयोग पुगेको छ ।
रंगशाला निर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणकार्यमा सयको हाराहारीमा कामदार खटिएका छन् । अवलोकनकर्ता र दाताहरू पनि थपिएका छन् । धुर्मुस स्वयं र अन्य कर्मचारीलाई पनि भ्याई नभ्याई छ ।