राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच सभ्झौता भएको छ । बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरूलाई निःशुल्करूपमा जीएसएम सिमकार्ड उपलब्ध गराउने सम्बन्धमा दुुवै निकायका प्रमुुखहरूले बिहीबार सम्झौता गरेका हुुन् ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरूलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जीएसएमसिमकार्ड निःशुल्करूपमा उपलब्ध गराउनेछ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धीरूपमा सेवा प्रदान गर्न थप ऊर्जा मिल्ने बताए । उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरूले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने विचार व्यक्त गरे । नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दुवै संस्थाको यो व्यावसायिक सहकार्यबाट समाजलाई फाइदा पुग्ने बताए ।
उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तव्य तथा कम्पनी सचिव भोलानाथ पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरू टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरू, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रमुख व्यवसायिक अधिकृत गोकर्णप्रसाद सिटौला, प्रमुख वित्तीय अधिकृत प्रदिपराज उपाध्यायलगायतकोे व्यक्तिहरूको उपस्थिति रहेको थियो ।