क्वात्राले कस्तो बनाउलान् सम्वन्ध ?
काठमाडौं । भारतले युरोपमा कार्यरत कूटनीतिज्ञ विनय मोहन क्वात्रालाई नेपालमा राजदूत बनाउन सिफारिस गरेको छ । मञ्जीवसिंह पुरीको कार्यकाल सकिएर स्वदेश फर्किएपछि भारतले उनको ठाउँमा क्वात्रालाई पठाउन लागेको हो । सन् १९८८ मा कूटनीतिक क्षेत्रमा प्रवेश गरेका क्वात्रासँग फ्रान्समा काम गरेको अनुभव छ भने उनलाई नेपालका जानकार पनि मानिन्छ ।
सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित सार्क सचिवालयमा निर्देशक भएर बसेकाले त्यसबेला उनले नेपालका विभिन्न राजनीतिज्ञ, कूटनीतिज्ञ, सञ्चारकर्मी आदिसँग सम्वन्ध बनाएको बताइन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा सहसचिव भएर काम गरेका क्वात्रा विदेश मन्त्रालयको नीति, योजना र अनुसन्धान विभागको प्रमुख समेत थिए । त्यसपछि उनले जेनेभा, न्यूयोर्क र वासिङटनमा बसेर काम गरेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयमा उनको नाम सहमति (अग्रिमो) का निम्ति पठाएको बताइएको छ । फागुनको पहिलो सातादेखि उनले कार्यभार सम्हाल्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
अन्तर्राष्ट्रिय चासोको विषय बन्दै गएको नेपाली कूटनीतिमा अनेकौ विघ्न वाधा देखिन थालेको भारतको बुझाइ छ । अमेरिका, भारत, चीन र युरोपेली युनियन जस्ता शक्तिहरुको प्रतिस्पर्धा भइरहेको काठमाडौंमा पहिलेका भन्दा अलिक बढी अनुभवी र परिपक्व कूटनीतिज्ञलाई पठाउनुपर्ने भारतका वरिष्ठ कूटनीतिज्ञहरुले सुझाव दिएको बुझिएको छ ।
नेपाल र भारतबीच कूटनीतिक सम्वन्ध स्थापना भएपछि जवाहरलाल नेहरुका पालादेखि नै भारतले परिपक्व कूटनीतिज्ञहरु पठाउने गरेको थियो भने पछिल्ला १५/२० वर्ष यता नेपालस्थित भारतीय राजदूतहरुले राजनीतिमा बढी चासो देखाएको आरोप लाग्ने गरेको छ ।
पहिले–पहिलेका राजदूतहरुले सोझै भारतीय प्रधानमन्त्रीसँग सम्पर्क गरेर निर्णय गर्ने गर्थे भन्दै पछिल्ला वर्षहरुमा भारतीय गुप्तचर निकायहरुको निर्देशन अनुसार काम गर्ने राजदूतहरु पनि आउन थालेको पुराना कूटनीतिज्ञहरुको तर्क छ ।
जुनसुकै व्यक्ति राजदूत भएर आए पनि छिमेकीलाई हेर्ने भारतीय दृष्टिकोण स्पष्ट नभएसम्म त्यसले दुई देशबीचका समस्याहरु समाधान गर्न नसक्ने कूटनीतिज्ञहरु बताउँछन् ।
नेपाल र भारतबीच पटकपटक कूटनीतिक सम्वन्धमा चिसोपन आउने गरेकाले विगतका कमीकमजोरीबाट शिक्षा लिएर भारत र नेपाल दुवैले कूटनीतिलाई सन्तुलित राख्नुपर्छ भन्ने दुवै देशका कूटनीतिज्ञहरुले सुझाव दिएका छन् । तसर्थ नेपालमा आउने भारतीय राजदूतले सम्वन्ध विगार्ने भन्दा पनि नेपाल भारत सम्वन्धलाई मर्यादित, सन्तुलित र पारदर्शी बनाउन् भन्ने धेरैको आकांक्षा पाइन्छ ।