‘हुर्काउनै मुस्किल चार अमूल्य उपहार’
पोखरा । स्याङ्जाका एक दम्पत्तिलाई एकै पटक चार सन्तान उपहार प्राप्त भएको छ । एक छोरा भइसकेका थिए भने अब एक छोरी भए राम्रो हुन्थ्यो भन्ने सोच थियो गौरव प्रधान र सुनिता दम्पत्तिलाई ।
पाँच वर्षको छोरा भएकाले सकेसम्म एक छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहना यो दम्पत्तिलाई हुनु स्वाभाविक पनि हो । रजस्वला रोकिएपछि चेकअप गर्दा सुनिताको गर्भमा तीन सन्तान रहेको थाहा भएको थियो ।
विगत पाँच वर्षदेखि दुबइमा काम गर्दै आएका गौरव वैदेशिक रोजगार रहर नभई बाध्यता रहेको बताउँछन् । अब झन् एकै पटक चार सन्तान जन्मिएको र पहिला एक गरी पाँच सन्तानको पालनपोषण, शिक्षा–दीक्षा थपिएँसगै उनीसँग वैदेशिक रोजगारीको विकल्प नै नरहेको बताउँछन् ।
गत वर्ष घर आएर पुतलीबजार नगरपालिका–१ स्थित बुबाआमाको साथ श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीमा फर्किएका प्रधानले प्रत्येक महिनाको भिडियो एक्स रे को रिपोर्टमार्फत श्रीमतीको बारेमा जानकारी लिदै आएका थिए । तीन सन्तान गर्भमा रहेकाले श्रीमतीलाई कुनै केही अप्ठ्यारो पर्ला कि भनेर उनी २० दिनअघि मात्र नेपाल आएका थिए ।
पुस २७ गते आइतबार श्रीमतीलाई पोखराको मणिपाल अस्पतालमा लिएर चेकजाँचका लागि प्रधान पुगेका थिए । ३४ हप्ता चार दिनमा शुक्रबार बिहान ९ बजे डा. महेन्द्रराज पाण्डेको नेतृत्वको टोलीले शल्यक्रिया गरेर २६ वर्षीय सुनिता प्रधानको गर्भबाट चार सन्तान निकाले पछि यो दम्पत्ति मात्र होइन, चिकित्सकहरु समेत चकित परे । यसअघि पटकपटक गरिएको भिडियो एक्सरेमा तीन सन्तान मात्र देखिएको थियो ।
सुनिताले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।
वैदेशिक रोजगारको सीमित आम्दानीबाट परिवारको पालनपोषण गर्दै आएका प्रधान दम्पत्तीलाई एकैचोटी जन्मिएका चार सन्तानको पालनपोषण थप समस्या हुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । तर पनि उनीहरुले भगवानको अमूल्य उपहारले आफूहरु खुशी भएको बताएका छन् ।
कम तौलका कारण केही दिन अस्पतालमा राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् । उनीहरुलाई पनि बच्चाको स्वास्थ्यमा केही समस्या आउने होकी भन्ने चिन्ता छ । उनीहरुले भगवानसँग काम गरिरहेको वताउँदै भने ‘पक्कै सबै राम्रो नै हुनेछ ।’ ५३ दिनको बिदामा घर आएका प्रधान बिदा थप्न नमिल्ने समस्याले चिन्ता लागेको बताउँछन् । उनी भन्छन् “भिसा रिन्यू गर्नुपर्छ । अहिले बिदा थप्न पनि मिलेन । सन्तानको माया उस्तै छ । कम तौल भएकाले विशेष स्याहार गर्नुपर्छ, आफू श्रीमतीसँगै हुनुपर्ने बेला विदेश जान बाध्य छु । नजाउ कसरी पाल्नु ? जाऊ मेरो जरुरत छ यतिबेला उनलाई ।”
सघन कक्षमा राखिएका बच्चाको उपचार खर्चका बारेमा पनि प्रधानलाई चिन्ता छ । उनी भन्छन् ‘कति दिनसम्म राख्नुपर्ने हो खै ? कति खर्च लाग्ने हो केही थाहा छैन । अहिलेसम्म अस्पताल र डाक्टरहरुबाट उपचार सहुलियतको बारेमा केही जानकारी गराउनु भएको छैन ।’
भिडियो एक्सरेमा तीन वटा देखिएको तर गर्भमा चारवटा सन्तानको बारेमा डा महेन्द्रराज पाण्डे भन्छन् ‘कतिपय अवस्थामा बच्चा खप्टेको हुन्छ, अंग नदेखिन सक्छ, देखिँदा तीन वटा मात्रै देखियो पछाडिपट्टी भएकाले नदेखिएको हुनसक्छ ।’ डा. पाण्डेका अनुसार आठ लाख मानिसमध्ये एक महिलाले चार सन्तान जन्माउने गरेका छन् । कृत्रिम गर्भाधानमा जुम्ल्याहा, तिम्ल्याहा, चम्ल्याहा जन्मने देखिए पनि प्राकृतिक गर्भाधानमा भने यो दुर्लभ भएको उनी बताउँछन् ।
डा. पाण्डे भन्छन् “गर्भाधानमा सामान्यतया एक शुक्रकिटको मिलन एउटासँग भएर त्यसपछि हुने विभाजनले गर्दा पनि हुनसक्छ अथवा एउटाभन्दा बढी शुक्रकिटको धेरै वटा अण्डासँग मेल भएर पनि जन्मने गर्दछ ।”
चम्ल्याहा शिशुको तौल कम हुने भएकाले श्वासप्रश्वासमा समस्या देखिन सक्ने, रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले सङ्क्रमण हुने सम्भावना बढी हुने डा. पाण्डे बताउँछन् । अहिले सामान्य देखिए पनि कति बेला समस्या आउँछ भन्ने थाहा नहुने भएकाले शिशुलाई संक्रमण हुनबाट जोगाउन सीमित व्यक्तिको मात्रै निगरानीमा राख्नुपर्ने र धेरैले छुन नहुने उनी बताउँछन् ।