गायिका राउतले माफी मागे पनि पक्राउ पर्ने

पदीय हिसाबले कसैलाई छुट हुँदैन : डीआईजी पोखरेल

काठमाडौं । विमानस्थलमा चेकजाँचका बेला गायिका आस्था राउतले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी परेको छ । आफूविरुद्ध उजुरी परेपछि गायिका राउतले सामाजिक सञ्जालमार्फत् माफी मागेकी हुन् ।
प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा गायिका राउतविरुद्ध उजुरी दिएकी हुन् । विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौज र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् । उनको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।
प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताएकी छन् । गायिका राउतले फेसबुक लाइभमा भनेकी छन्, ‘विमानस्थल घटनामा आफूले बोलेको शब्दप्रति आफैलाई ग्लानी भएको छ । संयमित भएर बोल्न सकिन, माफी चाहन्छु ।’
शुक्रबार फेसबुक लाइभमा गायिका राउतले महिला प्रहरीले दुव्र्यवहार गरेको भन्दै नानाथरी गाली गलौज गरेकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुरक्षा चेकजाँचमा सहयोग पुर्याउनु नागरिकको कर्तव्य हो भन्दै कुनै एक प्रहरीबाट गल्ती भएपनि सवै प्रहरी तथा सुरक्षा निकायमाथि तल्लोस्तरमा झरेर गाली गर्नु निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।
गायिका राउतले आफ्नो मनोबल घटेको र मन दुखेको भन्दै ‘कुनै दम्भ पनि देखाएको छैन, डराएको पनि छैन ।’ भनेकी छिन् ।
राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनेकी छिन्, ‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ । फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस् ।’
के भएको थियो विमानस्थलमा ?
विमानस्थल सुरक्षाको समयमा राउतमाथि के भएको थियो भन्ने भिडियो सार्वजनिक भएको छ । १ मिनेट ४५ सेकेण्डको भिडियोअनुसार आस्था राउत र अर्का एक युवक सँगै आउँछन् । युवक पुरुषको लाइनमा चेकजाँचका लागि जान्छन् भने राउत महिला प्रहरी भएकोतिर आउँछिन् ।
महिला प्रहरी (रमिता श्रेष्ठ) ले राउतलाई ज्याकेट खोलेर आउन भन्छिन् । राउतको हातमा रहेको कफीसमेत महिला प्रहरीले लिइदिन्छिन् र टेबुलमा राखिदिन्छिन् । त्यसपछि राउत रिसाउँदै बाहिर जान्छिन् र आफ्नो ज्याकेट खोली एक्सरे मेसिनमा राख्छिन् । अनि राउत प्रहरी चेकिङमा जान्छिन् । महिला प्रहरीले राउतको शरीर खानतलासी गर्छिन् । त्यसपछि पनि राउत रिसाएर आफ्नो ज्याकेट लिन जान्छिन् ।
राउत निस्कन लागेपछि महिला प्रहरीले कफी लैजान भन्छिन् । तर उनी कफी नलिई निस्कन खोज्छिन् । महिला प्रहरी आफैले कफी ल्याएर दिन्छिन् । तर पनि उनी अझै रिसाएर निस्कन खोज्छिन् । त्यसपछि महिला प्रहरीले राउतको ज्याकेट समातेर फेरि पनि कफी लैजान भन्छिन् । तर, राउत कफी लैजान मान्दिनन् । त्यसपछि केही समय महिला प्रहरी र राउतबीच कफी टेबलमा सारासार हुन्छ ।
राउतले आफ्नो ज्याकेट लगाउँछिन् र ब्याग बोकेर कफी नलिई जान खोज्छिन् । त्यसै क्रममा राउतले महिला प्रहरीमाथि नै औँला ठड्याएर केही बोल्छिन् । राउतको हाउभाउ हेर्ने हो भने त्यो धम्कीजस्तो देखिन्छ । राउतले औँला ठड्याएर धम्की दिँदा पनि महिला प्रहरी चुपचाप आफ्नो काम गरिरहन्छिन् ।
ज्याकेट लगाइसकेपछि राउत कफी नलिई त्यहाँबाट निस्किन्छिन् । भिडियोकै बीचमा हेर्ने हो भने करिब ५ वर्षकी एक बच्चीले आफ्नो ज्याकेट खोलेर एक्सरे मेसिनमा राख्छिन् र शरीर चेकजाँच गराउँछिन् । अनि चेकजाँच सकिएपछि आफ्नो ज्याकेट लगाउँछिन् र बाहिर निस्किन्छिन् ।
विमानस्थलमा यस्तो चेकजाँच सामान्य प्रक्रिया हो । कुनै कलाकार वा ठूला व्यक्तित्व हुँदैमा शरीर चेकजाँच नगर्ने भन्ने हुँदैन । महिला प्रहरीले आफ्नो नियमित काम गरेकी थिइन् । प्रहरी स्रोतका अनुसार महिला प्रहरीले नभएर राउतलेचाहिँ महिला प्रहरीमाथि अभद्र व्यवहार गरेकी थिइन् । ‘मलाई चिन्दैन, म को हुँ ? मेरो चेकिङ्ग गर्नुपर्छ र ?’ भनेर राउतले उल्टै विवाद गरेको प्रहरीको दाबी छ ।
पदीय हिसाबले कसैलाई छुट हुँदैन : डीआईजी पोखरेल
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले विमानस्थल जस्तो संवेदनशील स्थानमा पदीय हिसाबले कसैलाई पनि सुरक्षा अवज्ञाको सहुलियत नहुने बताएका छन् ।
राउतले प्रहरी सुरक्षा जाँचका क्रममा आफूलाई दुव्र्यवहार भएको भन्दै फेसवुक लाइभमार्फत आक्रोश पोखेपछि प्रहरी प्रधान कार्यालयले छानविनका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई निर्देशन दिएको थियो ।
‘ड्यूटीमा बसेको प्रहरीको मनोबल गिराउने हर्कत कोहीबाट हुन्छ भने क्षमायोग्य हुँदैन र त्यही विषयसँग जोडेर सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने ढंगले गरेका गाली गलौजको पनि छुट हुँदैन’, पोखरेलले भनेका छन् ‘छानविनका क्रममा प्रहरी कर्मचारीको पनि गल्ती देखिए कडा कारबाही हुन्छ ।’
विमानस्थलको सीसी टीभी फुटेज मगाएर अनुसन्धान थालिसकिएको बताउँदै पोखरेलले तत्कालीन समयका प्रत्यक्षदर्शी, सम्बन्धित प्रहरी कर्मचारी र सीसी टीभीमा देखिएको दृश्यको आधारमा छानविन जारी रहेको बताएका छन् । छानविनबाट दोषी देखिनेले कानूनको सामना गर्नै पर्ने उनले बताएका छन् ।
यसैवीच प्रहरीले उनलाई पक्राउका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति पाइसकेको छ । अहिले राउत प्रहरीको फरार सुचीमा परेकी छिन् ।