निरीह प्रतिपक्षी

सम्पादकीय

सरकारले गरेका तमाम कमीकमजोरीलाई लिएर खवरदारी गर्दै जनताका माझ ती आवाज पुरयाउनुपर्ने संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले आफैें निरीह बनिरहेको छ । मुलुक भित्रका तमाम राजनीतिक समस्याको हल खोज्ने निर्वाचित जनप्रतिनिधिहरुको एक मात्र सर्वोच्च निकाय संसद सभामुखबिहिन भएको चार महिना बितिसकेको छ । सत्तारुढ दलभित्र सहमति जुट्न नसक्दा संसदको हिउँदे अधिवेशन शुरु भएको महिना दिन बित्दा समेत सभामुख चयन हुन सकिरहेको छैन । नेकपाभित्रको आन्तरिक गुटगत द्धन्द्वका कारणले संसदलाई बन्धक बनाएर जनप्रतिनिधिहरुको अपमान गर्ने काम भइरंहदा समेत प्रमुख प्रतिपक्षले त्यसको खुलेर बिरोध गर्न सकिरहेको छैन । यस्तो महत्वपुर्ण बिषयमा संसदमा निर्वाचित दल र खासगरी प्रमुख प्रतिपक्षी दलको आवाज बुलन्द हुन सकिरहेको छैन, किन ? नेकपाले संसदलाई आप्mनो पार्टीको बिर्तासरह मानेर महिना दिन भन्दा पनि बढी समय बन्धक बनाउँदा उसले त्यसबारेमा मुख खोलेर बिरोध गर्न नसक्नुको कारण के हो ? जनताले प्रतिपक्षी दल नेपाली काँग्रेसलाई अहिले यसरी प्रश्न सोधिरहेको अवस्था छ ।
मंहगी दिनप्रतिदिन अचाक्ली बढिरहेको छ । सडकको सवारी चापले आमनागरिक समयमा गन्तव्यमा पुग्न सकिरहेका छैनन् । पानी पर्दा हिलो र घाम लागेपछि सडकबाट उडेको धुलोको कारण आममानिसहरु बिरामी छन् । सरकारी अस्पतालमा बिरामीको चाप र लाइनका कारण घण्टौं कुर्नुपर्ने बाध्यता छ । निजी अस्पतालमा गएर सर्वसाधारणले सहज रुपमा उपचार गर्न सक्ने क्षमता नै छैन । उपचार शुल्क अत्यन्त मंहगो र सर्वसाधारणको पहँुच बाहिर छ । दैनिक गुजारा टार्नका लागि समेत सर्वसाधारणलाई समस्या परिरहेको छ । महंगी घटनुको सट्टा दिनप्रतिदिन बढ्दो क्रममा छ । जताततै बेथिति र गलत संस्कारको बिकास भइरहेको छ । भ्रष्टाचार हिजोको दिनमा भन्दा झन् बढिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको प्रतिबेदनले पनि त्यो कुरालाई पुष्टि गरिसकेको छ । सवारी दुर्घटनाका कारण अनाहकमा ज्यान गुमाउनेको संख्या उसैगरी बढिरहेको छ ।
यी तमाम जल्दाबल्दा समस्याको बारेमा बहुमतको बर्तमान कम्युनिष्ट सरकार जानकार रहेपनि उ बेखबर झै अगाडि बढिरहेको छ । पाँच बर्षको लागि हामीलाई जनताले सरकार चलाउन अधिकार दिएको छ भन्दै छाति फुलाएर आफुहरुलाई कसैले हल्लाउन नसक्ने भन्दै आप्mनै सुर तालमा अगाडि बढिरहेको छ । यो अवस्थामा सरकारका हरेक, तमाम गतिबिधि र कमजोरीलाई जनताका माझ लगेर जागरुक गराउन अग्रसर हुनुपर्ने प्रतिपक्षी दल के गरेर बसेको छ जनताले पत्तो पाउन सकेको अवस्था छैन । सभामुख पदको बिषयमा सत्तारुढ दल रुमलिए झै ऊ पनि आन्तरिक राजनीतिक किचलोको समस्यामा फसेका कारण सरकारको लाचारीपनको खुलेर बिरोध गर्न सकिरहेको छैन । प्रतिपक्षको कमजोर भुमिकाका कारण नै सरकारमा हरेक दिन उन्माद बढिरहेको देखिन्छ । नेपाली काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न सकेको भए उसको राजनीतिक हाईट पनि स्वत बढ्ने थियो र सरकार पनि यति अधिनायकबादतर्फ अगाडि बढ्न सक्ने थिएन ।