कृषि कर्ममा रमाउँदै रेग्मी
नवलपरासी । माटो सुहाउँदो वातावरणका कारण गैंडाकोट १८ कृषिको प्रचुर सम्भावना बोकेको उर्वर भूमि हो । यहाँ कृषिको पर्याप्त सम्भावना छ । तर सम्भावनाको पहिचान भने हुन सकिरहेको छैन । नजिकको तीर्थ हेला हुन्छ भने झैं स्थानीयबासीले आफ्नै गाउँको सम्भावना चिन्न र बुझन नसक्दा बेसी झर्ने क्रम बढ्दो रहेपनि गैंडाकोट ११ का वडा सदस्य गुप्तप्रसाद रेग्मी भने कृषि कर्मका लागि कस्सिनु भएको छ । उहाँले गैंडाकोट १८ मा व्यावसायिकरुपमा कागती र एभोकाडो खेती शुरु गर्नुभएको छ ।
पर्याप्त व्यावहारिक अभ्यास र व्यावसायिक ज्ञान नहुँदा यहाँका स्थानीयले व्यावसायिक रुपमा खेती गर्न सकेका थिएनन् तर वडा सदस्य नै कृषि कर्ममा लागेको देखेपछि स्थानीयबासी पनि उनले गरेको कर्मलाई पछ्याउन थालेका छन् । रेग्मीकाअनुसार उर्वर भूमि र माटो सुहाउँदो वातावरणले गर्दा यहाँ कृषिको सम्भावना देखेर नै कागती र एभोकाडोको खेती सुरु गरेको हो । गैंडाकोट १८ लाई प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन अन्तरर्गत सुन्तला पकेट क्षेत्रका रुपमा घोषणा पनि गरिएको छ । जसले कृषिलाई प्रोत्साहन गरेको रेग्मीको भनाई रहेको छ । सुन्तला जोन घोषणा भएपछि अझै आफनो आत्मबल बढेको उहाँले बताउनुभयो ।
वडासदस्यले नै गाउँमा सक्रिय भएर कृषि कर्म गरेको देखेपछि आफूहरु पनि उत्साहित भएको स्थानीयहरु बताउँछन् । कृषिको सम्भावना नदेखेका र परम्परागत खेतीपातीमा रमाएका उनीहरु अहिले समूहगत रुपमा नै काम गरिरहेका छन् । १६ देखि १७ जनाको समूह बनाएर काम गर्न थालेको उनीहरुको भनाइ छ ।
गैंडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरेले वडामा कृषि र पशुपालनको सम्भावना पर्याप्त रहेको भन्दै काम गरिरहेको बताउनुभयो । यो वडामा बाख्रा, बंगुर, कागती, अदुवा, सुन्तलालगायतको खेतीको प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो । कृषि उत्पादन बढाउन १७ लाख बजेटसमेत बिनियोजन गरेको उनको भनाई छ ।
यस्तै गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले कृषिको उत्पादन बढाउन नगरपालिका लागि परेको बताउनु भएको छ । उहाँले कृषि नै विकास र समृद्धिको आधार कृषि भएकाले कृषि क्षेत्रको विकासमा नगरले कुनै कसरत बाँकी नराख्ने बताउनुभयो । नगरप्रमुख पौडेलले भन्नुभयो– ‘वडा नम्बर १८ विकट होइन, सम्भावना बोकेको कृषि क्षेत्र हो । यसका लागि काम हामी काम गरिरहेका छौं ।’
कृषि क्षेत्र विकासको मेरुदण्ड र आधार हुन । वडा सदस्यलगायत केही स्थानीयले यहाँको सम्भावनालाई आत्मसात् गर्दै काम गरिरहेका छन् यस्तै अन्य व्यक्ति र सरोकारवालाले पनि कृषि र कृषि क्षेत्रको विकासका लागि कम्मर कस्ने हो भने रोजगारीमा वृद्धि र स्थानीय उत्पादनले देश आत्मनिर्भर तर्फ अग्रसर हुने पक्का छ ।