कोरोनाका कारण उद्योग व्यवसायमा गम्भीर असर
महासंघको निर्वाचन सर्यो
काठमाडौं । विश्वभर महामारीको रुप लिदै गएको कोरोना भाइरसका कारण नेपालको जीनजीवनका सार्थ अर्थतन्त्रमा ठूलो असर परेको छ । सवैभन्दा धेरै असर पर्यटन क्षेत्रमा परेको छ । पर्यटकहरु आउन बन्द भएको छ ने हवाइ सेवा पनि ठप्प भएको छ । जसले गर्दा होटलका साथै पर्यटन व्यवसाय ठप्प हुन पुगेको छ ।
राजधानीका पाँच तारे होटलहरु समेत बन्द हुँदै गएका छन् । उद्योगी, पर्यटन व्यसायी, वायुसेवा सञ्चालकदेखि चलचित्र उद्योगीहरुले समेत क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको व्याज मिनाहा गर्न माग गरेका छन् । वायु सेवा सञ्चालक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको बिहीबार भएको बैठकले ती संस्थाबाट लिएको सम्पूर्ण दीर्घकालीन ऋणको कम्तीमा एक वर्षको किस्ता रकमलाई स्थगन गरी पुनःतालिकीकरण गर्ने व्यवस्था गर्न र विदेशी मुद्रामा लिइएका ऋण नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
सङ्कटको अवस्थामा आवश्यक सञ्चालन खर्च धान्नकै लागि वायुसेवा कम्पनीलाई बैंकले आपसी सहमतिमा सहुलियत ऋण जारी गरिनुपर्ने, माथि उल्लेखित ऋण पुनःतालिकीकरण सम्बन्धमा वायुसेवा कम्पनी सञ्चालकको उद्देश्यअन्तर्गत प्रदान गरिएको सबै किसिमको ऋणमा लागू हुनुपर्ने माग गरिएको छ ।
यसैवीच नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको छ । चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेर आउँदो जेठ ७ र ८ गते गर्ने भएको छ ।
कोरोना भाइरस सृजित समस्याका कारण निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको हो ।
भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गदै सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि महासंघले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना पूर्व घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । महासंघले घोषणा गरेको कार्यक्रम अन्तरगत चैत १४, १५, १६ गते राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु स्थगित भएका छन् ।
नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरेको भन्दै महासंघले आफ्ना घोषित कार्यक्रमहरु स्थगित गरेको बताएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ ।
कोरोना भाइरसका कारण नेपालको औद्योगिक क्षेत्र, पर्यटन व्यवसाय तथा सानो पूँजीमा संचालित लघु, घरेलु तथा साना उद्योगहरु धाराशायीमा परेको तथा भ्रमण वर्ष २०२० समेत स्थगनमा परेको छ । संक्रमणको त्रासले नेपालको औद्योगिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको भन्दै महासंघले छिमेकी राष्ट्र भारतसँग जोडिएका चार वटा नाका मात्र खोलेकोले उद्योग क्षेत्रलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा असर परिरहेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।
यसैगरी नेपालको औद्योगिक क्षेत्रमा कार्यरत विदेशी श्रमिकहरु सुरक्षाका लागि आफ्नो मुलुक फर्किएका र स्वदेशी जनशक्ति समेत सुरक्षित स्थानतर्फ लागेकाले उद्योग क्षेत्रमा जनशक्तिको अभाव हुँदै गएको उनले बताए । कच्चा पदार्थ, जनशक्तिको अभाव, सन्त्रासको वातावरणका कारण उत्पादकत्वमा कमी भई नेपालको औद्योगिक क्षेत्रमा विचलन आएको भन्दै महासंघले यस्तै अवस्था अरु केही समय रहेमा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
कोरोना भाइरसका कारणले औद्योगिक क्षेत्रलाई असर पारेता पनि उद्योगहरुले कर्मचारी तथा मजदुरहरुलाई पारिश्रमिक दिइनुपर्ने, प्रशासनिक खर्च भइरहने र बैंकको व्याज लागिरहने भएकाले उद्योग क्षेत्र खास गरेर लघु, घरेलु तथा साना उद्योगीहरु मर्माहत भएको महासंघले जनाएको छ । कोरोना भाइरसबाट पीडित लघु, घरेलु तथा साना उद्योगका लागि विभिन्न व्यवस्था गरिदिन नेपाल सरकारसँग महासंघले आग्रह गरेको छ । कोरोना संक्रमण अवधिमा लागेको बैंकको व्याज तथा हर्जाना छुट हुनुपर्ने तथा चैत मसान्तसम्म बुझाउनु पर्ने आयकरको किस्ता बुझाउने म्याद अर्को तीन महिनाका लागि थप गर्नुपर्ने महासंघले जनाएको छ ।
उद्योग नविकरण गर्ने म्याद हाललाई कम्तिमा छ महिना थप गरि नविकरण शुल्क मिनाहा गरिनुपर्ने, वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशी उद्योगमा प्रतिस्थापन गर्न वा नयां उद्योग संचालनका लागि प्रोत्साहन गर्न उचित सीप विकास तालिम प्रदान गर्नुपर्ने महासंघले आग्रह गरेको छ ।राज्यका संयन्त्रबाट दिईने अन्य छुट, सुविधा वा सहुलियतको लागि निर्णय हुनुपर्ने भन्दै सरकारले सार्वजनिक स्थलहरुमा स्यानिटाइजर तथा माक्सको व्यवस्था गरिदिनुपर्नेमा महासंघले जोड दिएको छ ।