कोरोनाविरुद्ध सार्कको सहकार्य

काठमाडौं । कोरोनाविरुद्ध सार्क राष्ट्रले साझा रणनीति बनाउनुपर्ने कुरामा सार्क क्षेत्रका आठ वटै राष्ट्र सहमत भएका छन् । भिडियो कन्फरेन्स मार्फत गरिएको छलफलमा प्रधानमन्त्री केपी ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मादी, भुटानी प्रम लोटे छिरिङ, वंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति इव्राहिम महम्मद, अफगानिस्तानका राष्ट्रपति असरफ गनी र पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जाबीच भएको छलफलमा उनीहरुले कोरोनाविरुद्ध एक भएर लड्न आपतकालिन कोष स्थापना गर्ने सहमति गरेका छन् ।
चैत २ गते भएको भिडियो कन्फरेन्समा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रमा कोरोना भाइरस रोकथामका लागि एक करोड डलरको आपतकालीन कोष घोषणा गरेका थिए । संभावित भाइरसमा हुनसक्ने स्थानमा एकीकृत रोग निगरानी पोर्टल स्थापना गर्न यो रकम खर्च गरिने मोदीले जानकारी गराएका छन् । कोषमा सदस्य मुलुकले स्वेच्छाले रकम थप्न सक्ने मोदीले प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेको कोषमा नेपालको पनि योगदान रहने प्रतिवद्धता जनाएका थिए । शुक्रबार देशवासीका नाममा गरेको सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले सो कोषमा नेपालले १० करोड नेपाली रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् । सो घोषणाप्रति भारतीय प्रधानमन्त्री मोदीले प्रशंसा गरेका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार राती ट्विट्मार्फत प्रधानमन्त्री ओलीको घोषणाको प्रशंसा गरेका हुन् ।
सार्क देशका कुनै पनि देशले आपतकालिन अवस्थामा प्रयोग गर्न पाउनेगरि राखीने उक्त रकमका लागि मोदीले सो घोषणा गरेपछि सार्क राष्ट्रका अरु प्रमुख तथा प्रतिनिधिहरुले पनि कोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका न् ।
सार्कलाई उपेक्षा गरेका बेला भारतको अग्रसरतामा यस्तो प्रस्ताव अघि सारिएपछि कूटनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । दक्षिण एसियामा कोरोना फैलिएको खण्डमा ठूलो जनसंख्या प्रभावित हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुको विश्लेषण छ ।
भारत र पाकिस्तान जस्ता क्षेत्रमा मात्र होइन, वंगलादेशलगायत दक्षिण एसियाका अन्य मुलुकमा पनि जनसंख्या अव्यवस्थित भएकाले कथमकदाचित कोरोना फैलिएमा सबैतिर स्वास्थ्य सेवा पुर्याउन गाह्रो पर्ने विश्लेषण भइरहेको छ ।