एक दर्जन चलचित्रको सुटिङ र रिलिज स्थगित

चलचित्र उद्योगलाई राहत दिन माग

काठमाडौँ । विश्वव्यापीरूपमा देखिएको कोरोनाभाइरसले चलचित्र उद्योग गम्भीर असर पारेको छ । दुई महिनासम्म प्रदर्शन हुने मिति तय भएका झण्डै दर्जन नयाँ नेपाली चलचित्रको रिलिज स्थगित भएका छन् भने आधा दर्जन चलचित्रको छायांकन रोकिएको छ । कोरोना भाइरस (कोभिड १९)बाट उच्च सतर्कता अपनाउन सरकारले सिनेमा हल बन्द गरेपछि नयाँ चलचित्र प्रदर्शन रोकिएको छ भने कोरोना भाइरसको डरले चलचित्र छायांकन पनि रोकिएका छन् ।
‘ए मेरो हजुर ४’ लगायतका फिल्मको छायाँकन रोकिएको छ । अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुक स्टाटसमार्फत फिल्मको छायाँकन रोकिएको जानकारी दिएकी छिन् ।
शुक्रबारबाट प्रदर्शन हुने भनिएको तीनवटा नयाँ नेपाली चलचित्रको रिलिज स्थगित गरिएको छ भने २८ चैतबाट रिलिज हुने भनेर तीव्र प्रचार गरिएको चलचित्र ‘चपली हाइट–३’ पनि सोे मितिमा प्रदर्शन नहुने भएको छ । यो चलचित्राम महेश त्रिपाठी, स्वस्तिमा खड्का, सुपुष्पा भट्टसहितका कलाकारको मुख्य भूमिका छ ।
यस्तै, २८ चैतमै रिलिज गर्ने भनिएको चलचित्र प्रेमगीत ३ पनि रिलिज स्थगित भएको छ । यही २१ चैतबाट रिलिज हुने भनिएको चलचित्र लक्का जवानको प्रदर्शन पनि स्थगित गरिएको छ । ७ चैत शुक्रबारबाट रिलिज हुने भनिएको फुलमान बलको फिल्म कोरोना त्रासकै कारण रिलिज सरेको छ । यो फिल्म अब सम्भवत जेठमा रिलिज हुने निर्देशक बलले बताएका छन् ।
आगामी १२ वैशाखबाट रिलिज हुने भनिएको चलचित्र ‘हिजो आजका कुरा’को रिलिज पनि स्थगित भएको छ । मुलुकभरका सिनेमा घरहरू आगामी १८ वैशाखसम्म बन्द रहने भएकाले १२ वैशाखपछि मात्र नयाँ रिलिज डेट आउने बताइएको छ ।
यसैबीच नेपाल चलचित्र संघले चलचित्र उद्योगलाई राहत दिन सरकारसँग माग गरेको छ । संघले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई भेटेर चलचित्र क्षेत्रमा परेको असरबारे जानकारी दिँदै राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।
संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मन्त्री खतिवडालाई कोरोनाभाइरसले पारेको प्रभावको बारेमा ज्ञापनपत्रसमेत बुझाएको छ । अर्थमन्त्री डा. खतिवडाले कोरोनाभाइरसले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावको बारेमा अध्ययन भइरहेको जानकारी दिएका छन् । उनले नेपाली चलचित्र उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको भन्दै सबै क्षेत्रको जानकारीहरू एकत्रित गरिरहेको र प्रभावबारे छलफल गरिरहेको बताए ।
‘पर्ख र हेरको अवस्थामा छौँ, कुन तहको क्षति हुन्छ त्यहीअनुसार योजना गर्ने हो, आगामी १ महिना कठिनाइ हुने देखिएकोछ, केन्द्रीय बैंकसँग बसेर छलफल चलाइरहेका छौँ र त्यसलाई अगाडि लानेछौँ,’ खतिवडाले भने । उनले चलचित्र संघका पदाधिकारीहरूलाई ज्यादै आतङ्कित हुनुपर्ने अवस्था नभएको बताए ।
अर्थमन्त्री खतिवडाले कोरोनाभाइरस रोक्न नाकाहरूमा उच्च सतर्कता अपनाइएको भन्दै मनोरञ्जन क्षेत्रमा हाल लिनुपर्ने विभिन्न किसिमका अनुमतिहरूलाई एकद्वार प्रणालीमा लैजाने प्रयास गरिरहेको जानकारी दिएका छन् ।
संघका अध्यक्ष मधुसुधन प्रधानले कोरोनाभाइरसको प्रभावले गर्दा हाल सिनेमा हलहरूमा दर्शकहरूको संख्या न्यून भएपनि दैनिकरूपमा विभिन्न किसिमका राजस्व तथा करहरू तिरिरहेको बताए । ‘हामीले दैनिक ब्याज, भ्याट, मनोरञ्जन कर, चलचित्र विकास करलगायत राजस्व तिरिरहेका छौँ, अहिले कोरोनाभाइरले प्रभावित पारेको छ, अन्य उद्योगसरह राहत प्याकेज दिनुप¥यो,’ अध्यक्ष प्रधानले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड–१९ को असर सबैभन्दा धेरै पर्यटन, होटल, रेष्टुरेन्ट क्षेत्रमा परेको भन्दै त्यसपछि प्रत्यक्षरूपमा सिनेमा हलहरू असर देखिएको बताए ।
चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली चलचित्र क्षेत्रमा ठूलो लगानी रहेको भन्दै देशभरिका दुई सयभन्दा बढी हलहरूमा हाल असर परेको बताए । अर्बौंको लगानी जोखिममा परेको भन्दै यसलाई संवेदनशील भएर हेर्न उनले सरकारसँग आग्रह गरेका छन् ।
नेपाल चलचित्र संघका अध्यक्ष प्रधानको नेतृत्वमा गएको टोलीमा संघका महासचिव अशोक शर्मा, उप महासचिव गोपालकाजी कायस्थ, सदस्यहरू भाष्कर ढुङ्गाना, कलाकार दिपकराज गिरी तथा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा कार्यसमिति सदस्य अञ्जन श्रेष्ठ सहभागी थिए ।