क्वारेन्टाइनमा युवतीमाथि बलात्कार प्रयास गर्ने पक्राउ

जनकपुर । कोराना भाइरस संक्रमणबाट वच्न र वचाउन धनुषाको एक क्वारेन्टाईनमा बसेकी युवतीमाथि बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ । विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाईनमा एक सातादेखि बस्दै आएकी २२ वर्षीया युवतीमाथि गएराती बलात्कार प्रयास गर्ने सोही नगरपालिकाका सरसफाई कर्मचारी २८ वर्षीय सञ्जिव पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बलात्कारको प्रयास गरेपछि महिला चिच्याएर हल्लाखल्ला गरेपछि युवती बलात्कार हुनबाट जोगिएकी थिइन् । तर विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले भने महिलाले लगाएको आरोप गलत रहेको दावी गरेका छन् ।
एक हप्ताअघि भारतबाट आएकी ती महिलालाई क्वारेन्टाइनमा राखिएको थियो ।
पीडित महिलाको उजुरीको आधारमा प्रहरी चौकी तिनकौरियाले युवकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको बताइएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।