लकडाउनको अवधिमा वित्तीय संस्था हप्तामा एक दिन मात्र खुल्ने

गुल्मी । गुल्मीमा लकडाउनको अवधिमा अब वित्तिय संस्थाहरु हप्तामा एक दिन मात्र सञ्चालन हुने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा बसेको बैठकले वित्तिय संस्थाहरु हप्तामा एक दिन मात्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैकिङ्क सेवा प्रवाह गर्ने बैङ्क तथा सहकारी संस्था लगायतका वित्तिय संस्थाहरु हप्ताको एक दिन बुधबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । बिमा कम्पनीहरु पनि हप्ताको एक दिन आइतबार मात्र संचालन गर्ने निर्णय भएको शर्माले जानकारी दिएका छन् ।

तर सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा हातधुने साबुन पानी, स्यानिटाइजर, ज्वरो नाप्ने यन्त्र, मास्कको प्रयोग र एकै स्थानमा कार्यालयमा भिभभाड नगराई सामाजिक दुरी कायम गरी सञ्चालन गर्नुपर्ने छ । त्यसो नगरेको पाइएका सेवा बन्द गराइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले सुचना जारी गर्दै उल्लेख गरेका छन् ।

साथै यस जिल्लाका सबै स्थानियतहले निर्माण गरेका र निर्माण गरिने क्वारेन्टाइन र आईसोलेसन मापदण्ड अनुसार व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्ने लगायतका निर्णय गरिएको बताईएको छ ।

जिल्लाको मदाने गाउँपालिकामा एक व्यक्तिमा कोभिड–१९ संक्रमित पुष्टि भएसँगै त्यस गाउँपालिकालाई सिल गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै जिल्लामा उच्च सर्तकता अपनाईएको छ ।