‘कोरोनाका कारण विश्वभर ११७ नेपालीको मृत्यु’
लण्डन । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो तथ्यांक २३ मे २०२० साँझसम्मको हो ।
एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो हप्ता २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो साता युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो ।
एनआरएनएको स्वास्थ्य समिति संयोजक डा। सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना, अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।
त्यस्तै कोरोना भाइरसका कारण अमेरिकामा १६, साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।
संयोजक डा।सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिएका छन् ।
चीनबाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ ।
संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा। हेमराज शर्माले जानकारी दिएका छन् ।