प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय आव्हान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय वैठक आव्हान गर्नु भएको छ । कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नु भएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको बताइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ ।

भारतद्वारा अतिक्रमित नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भू–भाग समेटेर सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी प्रकाशन गरेको थियो ।

नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सरकारले सङ्घीय संसद् सचिवालयमा नेपालको संविधान ९दोस्रो सशोधन० विधेयक २०७७ दर्ता भएको गरिसकेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई उक्त निशानछापमा समावेश गर्न संविधान सशोधन विधेयक दर्ता गरेको हो ।
संविधान संशोधनका लागि दलहरुबीच सहमति जुटाउन प्रधानमन्त्री ओलीले सर्वदलीय वैठक आव्हान गर्नु भएको बुझिएको छ ।
विधेयक दुई तिहाइ आधारमा पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विधेयक पारित भएपछि सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ ।