एमसीएको काम तत्काललाई रोक्ने नेकपा सचिवालयको समझदारी

काठमाडौं । अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) बारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकले बजेटमा समावेश गरिएका एमसीसीका कार्यक्रमहरु तत्काललाई रोक्ने निर्णय गरेको छ ।
बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
एमसीसी सम्झौता बारेको प्रस्ताव अहिले संसदमा विचराधीन अवस्थामा रहेको हुँदा प्रधानमन्त्रीले संसदमा जानकारी गराएअनुसार सम्झौता पास भए त्यसै अनुरुप हुने र पास नभए सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे सोचेर अगाडि बढ्ने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताएका छन्।
एमसीसीका बारेमा पार्टीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा छिट्टै सचिवालयको बैठकमा आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको प्रवक्ता श्रेष्ठ बताएका छन्।
‘पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन यसअघि नै बुझाइसकेको छ, त्यो प्रतिवेदनलाई समेत अध्ययन गरेर छिट्टै सचिवालयको बैठकमा त्यसबारेमा गम्भीर छलफल गरी आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
एमसीसी अनुमोदन नभएको अवस्थामा एमसीए अन्तर्गतका कामहरु तत्कालका लागि रोक्ने सहमति भएको प्रवक्ता श्रेष्ठले बताएका छन्।
संसदले एमसीसीको छिनोफानो नगर्दासम्म बजेट अनुमोदन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले बजेटको आफ्नै भएको र सोही अनुसार अनुमोदन हुने बताएका छन्।