जातिय विभेदविरुद्ध विरोध प्रर्दशन


गुल्मी । गुल्मीका दलित अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । आइतबार सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरुले देशका विभिन्न स्थानमा भएको जातिय विभेद विरुद्ध विरोध प्रर्दशन गरेका हुन् ।

जिल्लाको कालिगण्डकी गाउँपालिका फोक्सिङ्गमा भएको जातीय भेदभाव, कास्की पोखराको दलित क्रियापुत्रीमाथि गरिएको विभेद, रुपन्देहीको देवदहमा दलित बालिकाको बलात्कार र हत्या, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दलित युवा सहितलाई हत्या गरिएका घटनाका विरुद्ध दोषीलाई कारवाहीको माग सहित शान्तीपूर्ण रुपमा विरोध प्रर्दशन गरेका हुन् ।

‘दलित एकता जिन्दावाद्, पश्चिम रुकुमका दोषीलाई कडा कारवाही गर, फोक्सिङ जातिय विभेद्का दोषीलाई कडा कारवाही गर, रुकुम घटनाका षड्यन्त्रकारी होसीयार, जातिय भेद्भाव अन्त्य गर, लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रर्दशन गरेका थिए ।

विरोध प्रर्दशन मात्र गरेनन् । पछिल्लो समय सामाजिक सद्भाव खलबलाउने गरी भएका सम्पूर्ण विभेदपूर्ण घटनाको घोर निन्दा समेत गरे । पूर्व संविधानसभा सदस्य कमला विश्वकर्माले रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय मायाप्रेमकै कारणले होनहार युवाको विभत्सपूर्ण हत्याले अहिले सडक देखि सदनसम्म तातेको उल्लेख गरिन् । उनले दोषीलाई कडा कारवाहीको माग समेत गरिन् ।

दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले त्यस नरसंहारपूर्ण घटनाको जति निन्दा गरे पनि कम हुने उल्लेख गरे । दलित साझा मञ्चका उपाध्यक्ष रोम विश्वकर्माले जातीय विभेद्को अन्त्य गर्न माग गरे ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गरी सामाजिक दुरी कायम गर्दै गरिएको विरोध प्रर्दशनमा विभिन्न दलित संगठनका प्रमुख तथा प्रतिनिधि लगायत दलित नेताहरुको सहभागीता रहेको थियो ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका दोषी लगायत देशका विभिन्न स्थानमा भएको जातिय विभेद् विरुद्ध दोषीलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र पठाईएको छ । दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्मा सहितका दलित अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । त्यस अवशरमा प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापनपत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताउँदै रुकुमको घटनाले आफू पनि दुःखी भएको उल्लेख गरे ।

के लेखिएको छ ज्ञापनपत्रमा ?

ज्ञापनपत्रमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको दलित युवा र उनका साथीहरुको हत्या र सांघातिक आक्रमणप्रति सरकारसँग घटनामा संलग्नलाई कडा कानुनी कारवाहीको माग गरेका छन् ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र उनका साथीहरु टिकाराम सुनार, लोकेन्द्र सुनार र गणेश वुढा मगरको हत्या भएको थियो ।

घरेलु हातहतियार सहित लखेटी लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी क्रुर र ज्यादती ढङ्गले नरसंहार एवं हत्या गरी उनीहरुलाई भेरी नदीमा फालेको र सञ्जु वि.क, गोविन्द शाहीलाई वेपत्ता बनाएको घट्ना अत्यन्तै निन्दनीय भएको उल्लेख गरिएको छ ।

सुष्मा मल्ल र नवराज विक बीच प्रेम सम्वन्ध भएको र गत शनिबार जेठ १० गते प्रेमीका सुष्माले विहे गर्न भनि बोलाएको बताईएको छ । नवराजको घरतर्फ जाँदै गर्दा त्यहाँका वडा अध्यक्ष, केटीका बुवाआमा सहित गाउँका दुई तीन सय जनाको समुहले लखेटी–लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी भेरी नदीमा फालेको घटनाले कानुनी राज्य माथि प्रश्न चिह्न खडा भएको उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा त्यस घटनामा संलग्नलाई नेपालको संविधान र मुलुकी अपराध संहिता ऐन – २०७४ ज्यान सम्वन्धि कसुर र जातीय भेदभाव तथा छूवाछुत कसुर अन्तरगत हदैसम्मको कानुनी कार्वाहीको जोडदार माग समेत गरेका छन् ।

त्यस घट्नाले नेपालको संविधान, छूवाछुत मुक्त राष्ट्र र नेपाल सरकारले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको सवै प्रकारका जातीय विभेद सम्वन्धि अन्तराष्ट्रिय महासन्धि लगायतको उपहास भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जिल्लास्थित दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, दलित पत्रकार संघ, परियार सेवा समाज लगायतका दलित संघ सस्थाहरुको गम्भिर ध्यान आर्कषण भएको भन्दै त्यस घटनाप्रति घोर भत्र्सना गर्दै खेद प्रकट गरेका छन् ।घट्नाको छानविन गरी यथाशक्य घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग जोडदार माग गरिएको छ ।

ज्ञापनपत्रमा पूर्व संविधानसभा सदस्य कमला विश्वकर्मा, जिल्लास्थित दलित साझा मञ्च अध्यक्ष गणेश विश्वकर्मा, उपाध्यक्ष रोम विश्वकर्मा, नेपाल दलित मुक्ति संगठन इञ्चार्ज नेकपाका कृष्ण सुनार, नेपाली कांग्रेस दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, नेपाल दलित संघका अध्यक्ष लुम बहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

यस्तै दलित महिला संघक कमला बराल, नेपाल सुनचाँदी व्यवसायी महासंघ गुल्मीका अध्यक्ष बालकृष्ण बराल, दलित साझा मञ्चका छविलाल विश्वकर्मा, दलित मुक्ति संगठनका कृष्ण नेपाली, नेपाल दलित मुक्ति संगठनका धनेन्द्र विश्वकर्मा, नेपाल दलित मुक्ति संगठनका कृष्ण विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

यस्तै नेपाल दलित मुक्ति संगठनकी सीता विश्वकर्मा, परियार सेवा समाजका अध्यक्ष लक्ष्मण परियार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका जीवन परियारलगायतले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।