पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौं । लकडाउन बढ्दै जाँदा व्यापार–व्यवसाय चौपट बन्दै गएको छ भने गाँसको समेत समस्या पर्दै गएको छ । चैत ११ देखि शुरु भएको लकडाउनका कारण समस्या बढ्दै जाँदा व्यवसायीहरुले पसल उद्योग, पसल खोल्न पाउनु पर्ने माग गर्न थालेका छन् ।
लकडाउनको स्वरुप फेर्न ठूला व्यापारीहरुको दवाव बढिरहेका बेलामा जोरपाटीका साना व्यवसायीले मंगलबार प्रदर्शन गरेका छन् ।
पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरुले पसल खोल्नुका साथै सडकमा प्रदर्शन गरेका थिए । पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायतसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका छन् । छलफलका क्रममा नगरपालिकाले पसल खोल्ने वातावरणका लागि पहल गर्ने आश्वसन दिएको बताइएको छ ।
नगरका प्रशासकीय अधिकृत नरहरि घिमिरे भने यो विषयमा निर्णय गर्ने अधिकार नगरपालिकासँग नभएको बताएका छन् ।
त्यस्तै उपत्यकाका विभिन्न क्षेत्रका व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रशासन गुहार्न थालेका छन् । भाटभटेनी, विगमार्टलगायतका ठूला सपिङ मल खोल्न दिएको तर साना पसलहरु खोल्न नदिएको भन्दै गुनासो पनि बढ्दै गएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । लकडाउनले जिउन समेत मुस्किल हुन थालेको भन्दै खुकुलो पार्न जनस्तरबाट माग हुँदै आउनु स्वभाविक भएको धेरैको ठम्व्याइ छ ।
लकडाउन ३२ जेठसम्म बढाउने सरकारको निर्णयलाई थप व्याख्या गरेर केही स्थानमा लकडाउन खुकुलो बनाउन सकिने बारे छलफल चलिरहेको पनि बताइएको छ ।