गुल्मीका स्थानीयतह आइसुलेशन व्यवस्थापनमा जुटे

गुल्मी । गुल्मीका स्थानीयतह आइसुलेशन व्यवस्थापनमा जुटेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)लाई मध्यनजर गर्दै आइसुलेशन व्यवस्थापनमा जुटेका हुन् ।

यस अघि बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गुल्मीको बैठकले जिल्लाका ७ स्थानीय तहमा आइसुलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सुचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

बैठकले सत्यवती गाउँपालिकाको जोहाङ खैरेनी, रुरु क्षेत्र गाउँपालिकाको रिडि, छत्रकोट गाउँपालिकाको श्रृङ्गा, धुर्कोट गाउँपालिकाको रजस्थल, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर, मुसिकोट नगरपालिकाको वामीटक्सार, रेसुङ्गा नगरपालिकाको तम्घासमा आइसोलेशन कक्षको निर्माण गर्ने निर्णय गरेको थियो ।

छनौट भएका पालिकामा १०–२० बेड क्षमताको आइसोलेशन कक्ष निर्माणका गर्ने निर्णय भएको पाण्डेले जानकारी दिए । सदरमुकाम तम्घासमा ५० बेड क्षमताको आइसोलेशनको निर्माण गर्ने योजना बनाईएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मङगलबारसम्म जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएको आइसोलेशन बेडको क्षमता ६७ रहेको छ । जसअन्र्तगत रेसुङ्गा नगरपालिकामा २०, मुसिकोट नगरपालिकामा १६, चन्द्रकोट गाउँपालिकामा ८, छत्रकोट गाउँपालिकामा ३, धुर्कोट गाउँपालिकामा २० बेडको आइसोलेशन कक्षको निर्माण भएको हो ।

कोभिड–१९ संक्रमित बिरामीलाई मध्यनजर गर्दै आइसोलेशनको निर्माण गरिएको हो । कोभिड–१९ संक्रमण पुष्टि भएकालाई आइसोलेशन कक्षमा राखेर उपचार गरिने बताईएको छ ।

चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्रीले भारत लगायतका तेश्रो मुलुकबाट आएकाहरुलाई गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्न आग्रह गरे । ‘क्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा केही समस्या देखिए, गाउँपालिकाको आइसोलेशन होल्डिङ्ग कक्षमा राख्छौं ।’

उनले भने ‘आर.डि.टि.परिक्षण गर्छौ । पीसीआर परिक्षणका लागि पठाउँछौँ। कोरोना भाइरस पोजिटिभ देखियो भने आइसोलेसन कक्षमा राख्छौं । अध्यक्ष खत्रीले कोभिड–१९ विरुद्ध गाउँपालिकाले हरेकतरिकाले तयारी गरेकाले ढुक्क भएर बस्न पालिकाबासीलाई आग्रह गरे ।