बैकल्पिक शक्ति भनिने दलहरु दस्तावेजमा मात्र सीमित : नेता बस्नेत
काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले बैकल्पिक शक्ति भनिने दलहरु दस्तावेजमा मात्र सीमित हुन सक्ने आशंका गरेका छन् । मङ्गलबार सञ्चारकर्मीसंग कुरा गर्दै नेता बस्नेतले नेपाली जनतालाई राजनीतिक दलहरु देश र जनताका लागि खुलेका हुन् भन्ने कुरामा समेत विश्वास लाग्न छोडेको बताए । उनले यस्तो अबस्थामा एक थान अर्को पार्टी खोल्दैमा जनता आकर्षित नहुने निश्चित भइसकेको पनि बताए ।
काङ्ग्रेस र कम्युनिस्ट पार्टी भन्दा फरक हौं भन्ने दलसंग समेत जनताको खासै सरोकार र विश्वास नरहेको वताउँदै बस्नेतले भने “माओवादीप्रति प्रारम्भिक रुपमा एकखाले आकर्षक भएकै कारणले २०५२ पछि स्थापना भएर पनि पहिलो पार्टी बनेको र अन्ततोगत्वा उसको हालत कमजोर बनेपछि एमालेसँग मिसिन पुग्यो ।”
अन्य साना दलहरुको कन्तविजोग हुने बताउँदै नेता बस्नेतले नेताहरु जस्ले जतिसुकै क्रान्तिकारीता छाँटेपनि जनताका नजरमा र केही हदसम्म वास्तविक रुपमा तिनीहरु खत्री काले र काले खत्री हुन् भन्दा फरक पर्ने ठोकुवा गरेका छन् ।
‘के अब तपाईं काङ्ग्रेसको विकल्प कम्युनिस्ट र कम्युनिस्टको विकल्प काङ्ग्रेस नै रहेछ, नयाँ पार्टीमा लागेर गल्ती गरिएछ भन्ने निष्कर्षमा पुग्नुुभएको हो ?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा पार्टी सम्वद्ध नेपाल बौद्धिक पेसाकर्मी महासङ्घका सह– इन्चार्ज समेत रहेका बस्नेतले भने, “म तपाईंलाई अहिले यति मात्र भन्छु, काङ्ग्रेस र कम्युनिस्ट पार्टी हुन् तर नेता र कार्यकर्ताका पार्टी । पार्टी जनता र देशको लागि पार्टी बन्नुपर्छ भन्ने मेरो मान्यता हो त्यो पूरा हुने स्थिति अहिलेका दलबाट मुस्किल देखिन्छ । मत पार्टी ठूलो बन्नुपर्छ, सरकार बनाउनुपर्छ भन्दापनि पार्टी स्थापना भएदेखि नै आफ्नो सामर्थ्य अनुसारको काम जनता र देशका लागि इमानदारीपूर्वक गर्नुपर्छ र पार्टीको मूख्य उद्देश्य यहि हुनुपर्छ भन्छु तर दल र नेताहरु यो दिशामा छैनन् जस्तो लाग्छ उनिहरुको कार्यशैली र जीवनशैली हेर्दा ।”
तपाईंसंग निरासा र खिन्नता बाहेक अरु केहि छ कि भन्ने प्रश्नमा उनले भने, “नयाँ पार्टीको दस्तावेजमै विद्यमान बैचारिक र सांगठनिक संरचनाका अतिरिक्त थप यस्तो संरचनारअभियान बनाऔं र बैकल्पिक शक्तिको अभियान थालौं भनि केही नेताहरूलाई लिखित सुझाव दिएको छु । मेरै प्रस्तावलाई मैले रामवाण ठानेको छैन तर पार्टीले यसमा विचार गरे हुन्थ्यो भन्ने लागेको छ ।”
उनले आफ्नो प्रस्ताव के थियो भन्नेबारे भने खुलाउन चाहेनन् ।