२५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेता अवज्ञा गर्नुको विकल्प छैन : देउवा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।
करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै सभापति देउवाले सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकसँग नरहेको बताएका छन् ।
पीसीआर परीक्षण गरेर साना—ठूला व्यवसाय क्रमशः संचालन गर्ने कार्ययोजना बनाउनुपर्ने सभापति देउवाले बताएका छन् ।
सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न समेत सरकारसँग माग गरेका छन् ।
आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेको छ । नभए जरिवाना लाग्ने बताएपछि व्यवसायीहरुले यसको विरोध गरेका छन् ।
लकडाउनले व्यवसाय ठप्प भएको भएको अवस्थामा व्यवसायीहरुलाई राहत दिनुको सट्टा सरकारले कर तिर्न दवाव दिनु गलत भएको उनीहरुको दावी छ ।