इन्भेष्टमेन्ट बैंकले जित्यो २ अर्बको मुद्दा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा करिब २ अर्ब ४ करोड रुपैयाँ बराबरको भुक्तानी सम्बन्धी मुद्दा जितेको छ । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैंकले नेपाल इन्भेष्टमेन्टलाई काउन्टर ग्यारेन्टीबापतको भुक्तानी गर्न पर्ने अदालतले फैसला गरेको हो ।
यसअघिको आफ्नै अदालतको एकल इजलासबाट भएको फैसला उल्ट्याएर ३ जनाको संयुक्त इजलासले नेपाल इन्भेष्टमेन्टको पक्षमा फैसला सुनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले जानकारी दिए ।

तनहुँ हाइड्रोको इटालियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा दायर गरेको थियो । सीएमसीले मुद्दा जितेपछि इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टीबापत नेपालमा तनहुँ हाइड्रोलाई दिएको करिब २ अर्ब रुपैयाँ असुलउपर गर्न कठिन भएको थियो ।
तनहुँले ८५ करोड नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो ९१ अर्ब १८ करोड रुपैयाँ ० गरी करिब २ अर्ब ४ करोड बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी इन्भेष्टमेन्ट बैंकबाट जफत गरेको थियो ।
यसअघि इटालीको अदालतले जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैंकले इन्भेस्टमेन्ट बैंकलाई दिन नपर्ने भनेको थियो । इन्भेष्टमेन्ट बैंकले फैसलाविरुद्ध अदालतमा अपील परेको थियो । यसमाथि अदालतको संयुक्त इजलासमा भएको बहसपछि काउन्टर ग्यारेन्टी दिने स्थानीय बैंकलाई इन्भेस्टमेन्ट बैंकको भुक्तानी दिन अदालतले आदेश दिएको छ ।