पसल खोल्न नदिएपछि व्यवसायी आक्रोशित

आज मन्त्रिपरिषद् वैठकले लकडाउन खुकुलो बनाउने अपेक्षा

काठमाडौं । तीन दिनदेखि खुल्ला हुँदै आएका न्यूरोड क्षेत्रका पसलहरु मंगलबार प्रहरीले एक्कासी बन्द गराएपछि व्यवसायीहरु आक्रोशित भएका छन् ।
व्यापारीहरुले बुधबार विहानै पसल खोल्न गएका थिए । तर हिजो जस्तै आज पनि प्रहरीले पसल खोल्न नदिएपछि व्यापारीहरु आक्रोशित भएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो बनाउनेबारे बुधबार सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
लकडाउनको मोडालिटी पनि चेन्ज नगर्ने र व्यावसायीलाई राहत प्याकेज पनि घोषणा नगरे सरकारलाई ताला चाबी बुझाउने अध्यक्ष कटवालले चेतावनी दिएका छन् ।
लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए । तर मंगलबार एक्कासी प्रहरीले पसलहरु बन्द गराउँदै हिँडेपछि व्यापारीहरु रुष्ट भएका हुन् ।
सरकारले कुनै नयाँ निर्देशन नदिएकाले लकडाउनमा कडाइ गरिएको प्रहरी अधिकारीहरुले बताएका छतन् ।
यसैबीच आज मन्त्रिपरिषद् वैठक बस्दैछ । वैठकले लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्ने बताइएको छ । आज बस्ने वैठकले लकडाउन खुकुलो बनाउने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।