नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाद्धारा क्वारेन्टाइनमा रहेकालाई मनोसामाजिक परामर्श शुरु

गुल्मी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले कोभिड १९ सम्बन्धी मनोसामाजिक परामर्श एवं सचेतना कार्यक्रम सञ्चालन गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गरी सचेतना कार्यक्रम सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठले बताए ।

यस समयमा भारत लगायत तेश्रो मुलुकबाट आई जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई मध्यनजर गरी मनोसामाजिक परामर्श सहित सचेतना कार्यक्रम शुरु गरिएको सभापति श्रेष्ठको भनाई छ ।

जसअन्र्तगत जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा रहेकाहरुलाई मनोसामाजिक परामर्श सहित सचेतना प्रदान गरिँदै आइएको छ । क्वारेन्टाइनमा बस्दाको समयलाई सदुपयोग गरी रचनात्मक कार्यमा खर्चिने उपाय लगायत मनोसामाजिक परामर्श कार्यक्रम गरिएको श्रेष्ठले बताए ।

त्यस कार्यक्रम अन्र्तगत शनिबार जिल्लाको सदरमुकाम तम्घास स्थित महेन्द्र नमुना माध्यमिक बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेकाहरुलाई मनोसामाजिक परामर्श तथा कारोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुलाई सचेतनाद्धारा सहयोग गर्ने पुर्याउने उद्देश्य स्वरुप यो कार्य सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका उपसभापति कृष्ण प्रसाद भण्डारीले बताए । उनीहरुलाई सचेतना कक्षा सञ्चालन गर्नको लागि रेडक्रस बाट नै विज्ञहरुको व्यवस्था गरिएको भण्डारीले जानकारी दिए ।

क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने व्यवहार, योग, रोगसँग लड्न सक्ने क्षमता बढाउने उपाय लगायतका बिषयमा जानकारी प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी गुल्मीकी उपसभापति राधा पन्थीले बताईन् ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका उप–प्रमुख सीता भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस अवशरमा भण्डारीले क्वारेन्टाइनमा बसी सहयोग गरेकोमा क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई धन्यावद् ज्ञापन गरिन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले यो कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताए । उनले क्वारेन्टाइनमा बसेकाहरुलाई सचेतना मूलक कार्यक्रमले उर्जा थपेको बताउँदै घरमा गएर पनि एक हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरे ।

वडाअध्यक्ष पाण्डेले युवाहरुलाई घरमा गएर बजारको माग अनुसारको कृषि कार्यमा लागि स्वरोजगार तर्फ ध्यान दिन आग्रह गरे । उनले उत्पादन भएको कृषि उपजको स्थानीयतहले पुर्ण बजारको ग्यारेन्टी गर्ने बताए ।