छाङरु पुगेर फर्किए प्रधानसेनापति र सशस्त्रका आईजीपी

काठमाडौं । भारतले मिचेको नेपाली भूमि लिपुलेक, कालापनी र लिम्पियाधुरालाई समेटर सरकारले नयाँ नक्सा सार्वजनिक गर्नुका साथै संसदबाट समेत सर्वसम्मत रुपमा अनुमोदन गरिसकेको छ । नक्सा जारी भएपछि सरकारले सो क्षेत्रमा सुरक्षाका लागि सशस्त्र प्रहरी समेत पारिचालन गरेको छ भने नेपाली सेनाले बाटो निर्माण गरिरहेको छ ।
सो क्षेत्रको निरीक्षण, बाटो निर्माण तथा वीओपीको निरीक्ष तथा आवश्यक निर्देशन दिनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल कालापानी नजिकै रहेको छाङरु भ्रमण गएका थिए ।
दार्चुला जिल्लाको छाङरुमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गरेर उनीहरु फर्किएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट त्यहाँ पुगेका दुवै जना आजै फर्किएका हुन् ।
छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट सेनापति थापा र महानिरीक्षक खनालले व्रिफिङ लिएको र उनीहरुले आवश्यक निर्देशन दिएको बताइएको छ ।
नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटो बनाउन घाँटी बगर क्षेत्रमा ट्याक खोल्ने काम भइरहेको छ । यो कार्यका लागि नेपाली सेनाको फौज परिचालित भएको छ ।
प्रधानसेनापति थापा नयाँ बनेको पृतनाको निरीक्षणका लागि धनगढी गएको र सो क्रममा मातहतका इकाइको पनि निरीक्षण गरेको सैनिक स्रोतले जनाएको छ ।