२४ घन्टामा ४६३ जना थपिए कोरोना संक्रमित

संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

काठमाडौं । नेपालमा २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
यीमध्ये १०५ जना महिला र ३५८ जना पुरुष छन्। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १२ हजार ७७२ जना पुगेको छ।
त्यस्तै हालसम्म ३ हजार १३ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन्।
कुन जिल्लामा कति थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ६, इलामका १, मोरङका १७ र झापाका २ जना कोरोना संक्रमित भेटिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० र महोत्तरीका ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डडेल्धुकार १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४, रौतहटका १७, सर्लाहीका १ र सिन्धुपाल्चोकका १ जनामा कोरोन संक्रमण भएको भेटिएको छ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा गुल्मीका २० र कपिलवस्तुका २ जनामा कोरोना संक्रमण भेटिएको छ भने पाटन अस्पतालको ल्याबमा धादिङ र ललितपुरका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यसतै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाजुराका ६३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्कीका ५ र नवलपरासी पूर्वका ३१ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २९, पर्वतका २, सल्यानका १, तनहुँका ६, लमजुङका १ र म्याग्दीका २ जनामा समेत संक्रमण पाइएको छ छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १ जना, पाल्पाका २, प्यूठानका ३५ गुल्मीका १ जना र रुपन्देहीका १२ जना कोरोना संक्रमण पुष्टि भएको छ।