जोशी आजदेखि बिदामा बसे, बरिष्ठ न्यायाधीश मिश्रले पेशी तोक्ने

काठमाडौं- संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि सर्बोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी आज (आइतबार) देखि विदामा बसेका छन् ।

जोशी विदामा बसेपछि आजदेखि नै सर्बोच्च अदालतको पेशी तोक्ने काम बरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले गर्ने भएका हुन् ।

संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि जोशीले आफू सर्बोच्च अदालतको न्यायाधीशबाट राजीनामा पनि नगर्ने र अदालतमा गई पेशी तोक्ने बताउँदै आएका थिए ।

सुनुवाई समितिबाट अस्वीकृत भएपछि पनि पेशी तोक्छु भन्दै हिडेका उनी विरुद्ध संत्तापक्षले महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेपछि उनी विदामा बसेको बताइएको छ।

विदामा बस्नेवारे जानकारी गराउन उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शनिबार शितल निवास पुगेका थिए ।

जोशी संसदीय समितिबाट अस्वीकृत भएसँगै अब संवैधानिक परिषद्ले जोशीको नाम सुनुवाई गर्दैताका न्यायपरिषद्बाट सिफारिस गरिएका बरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको नाम संसदीय सुनुवाई समितिलाई प्रधान्यायाधीशको रुपमा सिफारिस गर्न सक्नेछ ।

संवैधानिक परिषद्को अवको बैठकले मिश्रको नाम प्रधानन्यायाधीशको रुपमा समितिमा सिफारिस गर्दा संवैधानिक परिषदको बैठकमा हालका कायम मुकायम प्रधानन्यायाधीश जोशी र उनीपछिका बरिष्ठतम् न्यायाधीश मिश्र अनिर्वाय उपस्थित हुनुपर्ने छैन ।
न्यायपरिषद्को तर्फबाट परिषद्मा संवैधानिक परिषद्को आमन्त्रित सदस्यका रुपमा रहने नव नियुक्त कानूनमन्त्री भानुभक्त ढकालले नै उनीहरुको प्रतिनिधित्व गर्नेछन् ।