ओलीलाई प्रधानमन्त्री र अध्यक्ष छाड्न दवाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छोड्न अर्का अध्यक्ष पुष्पकमल दाहालले दवाव दिएका छन् । नेकपाको स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष दाहालसँगै वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेको एक सदस्यले बताएका छन् ।
पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै दाहालले यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए। प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै अध्यक्ष दाहालले सरकार र पार्टी दुबैमा असफल भएकोले दिल्लीले होइन, मैले राजीनामा मागेको हुँ भनेको एक स्थायी समिति सदस्यले बताएका छन् ।
‘बुधबारको बैठकमै मैले तपाईँबाट सरकार र पार्टी सञ्चालन राम्रो नभएको बताएको हुँ,’ एक स्थायी कमिटी सदस्यले दाहालको भनाई उद्धृत गर्दै भने, ‘अहिले फेरि पनि भन्छु राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्।’
अध्यक्ष दाहालले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने माग पनि गरेको बताइएको छ ।
आइतबार मदन भण्डारीको ५९ औं जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र त्यसमा नेपाली शक्तिले साथ दिएको बताएका थिए । उनले नयाँ नक्सा सार्वजनिक र संविधान संशोधन गरेपछि आफूविरुद्ध षडयन्त्र भएको बताएका थिए ।