नेपालमा थपिए ७४० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार नाघ्यो

संक्रमणका कारण बानेश्वर निवासी ८५ वर्षीय वृद्धाको मृत्यू

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४० जना कोरोना संक्रण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७ सय ४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय २३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ६ हजार १ सय ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
कोरोना संक्रमणका कारण काठमाडौँका एक वृद्धको मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो ।
काठमाडौँको नयाँ बानेश्वर निवासी ८५ वर्षीय वृद्धामा उच्च रक्तचाप र पार्किन्सन्सको समस्या रहेको थियो । उनी बुधबार छाती दुखेको र पिसाब कम भएको समस्या लिएर काठमाडौँकै एक निजी अस्पततालमा उपचारका लागि पुगेका थिए। अस्पतालको आईसीयूमा उपचारकै क्रममा उनको मृत्यू भएको थियो।
उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।