पत्रकारको पेशागत सुरक्षाको माग गर्दै महासंघको आन्दोलन

काठमाडौं । पत्रकारहरुको पेशागत सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । कोरोना भाइरस संक्रमण शुरु भएसँगै पत्रकारहरुलाई नियमित पारिश्रमिक नदिने, तोकिएको तलव नदिने, कामबाट निकाल्ने, बिदामा राख्ने, प्रकाशन बन्द गर्ने जस्ता कार्यहरु मिडिया मालिकहरुबाट हुन थालेपछि महासंघको अगुवाइमा पत्रकारहरुले आन्दोलन शुरु गरेका हुन ।
शुक्रबार माइतीघर मण्डलामा भएको प्रदर्शनलाई सम्वोधन गर्दै महासंघका अध्यक्ष, पूर्व अध्यक्ष र श्रमजिवी पत्रकारका विभिन्न संगठनका प्रतिनिधिहरुले श्रमजीवी पत्रकार ऐन लागू गर्न र पेसागत सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका छन् ।


सञ्चारगृहमा सञ्चारकर्मीहरुलाई काम गर्ने वातावरण नदिएको, हतोत्साहित बनाउने र भुक्तानी गर्न बाँकी पारिश्रमिक समेत नदिई कामविहीन बनाएको उजुरी आउने क्रम बढेको बताउँदै महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारगृहहरुले त्यस्ता कार्य बन्द गर्नुपर्ने बताए । नत्र सञ्चार गृह केन्द्रित आन्दोलन अगाडि बढाउन महासंघ वाध्य हुने चेतावनी दिएका छन् ।
यसैवीच महासंघले संचार प्रतिष्ठानहरूले श्रमजीवी पत्रकार निश्काशन गर्ने, वेतलवी विदामा राख्ने ,परिश्रामिक कटौती गर्ने र काम गर्ने वातावरण नदिने जस्ता कार्य गरेको विरुद्ध संसदको तीन वटा समितिमा लिखित जानकारी गराएको छ ।
महासंघले लिखित पत्र दर्ता गराएका समितिहरुमा राज्य व्यवस्था तथा शुसासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति र विकास तथा प्रविधि समिति छन । श्रमजीवीका समस्या संसदका समितिमा छलफल गरी आवश्यक निर्णय र निर्देशनको आग्रह महासंघले गरेको छ ।