जनताको म्याण्डेटअनुसार ५ वर्ष प्रतिपक्षमै बस्छौं : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनताले दिएको म्याण्डेटअनुसार पाँच वर्ष प्रतिपक्षमा बस्ने स्पष्ट पारेको छ ।
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक कलह चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले कांग्रेस सभापतिलाई सत्ता सहकार्यको प्रस्ताव राख्न थालेपछि कांग्रेसले आफ्नो धारणा स्पष्ट पारेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘उहाँहरु आपसमा हल खोज्न नसक्ने र कांग्रेसको टेको टेक्नुपर्ने अवस्थामा उहाँहरु पुग्नु भएको छ जस्तो छ हामीलाई लाग्दैन ।’
त्यस्तो प्रस्ताव आएको क्षणमा नै टिप्पणी गर्ने शर्माले बताए । तर जनताले २०७४ को आम चुनावमा दिएको म्याण्डेटअनुसार ५ वर्ष कां‌ग्रेस प्रतिपक्षमा बस्ने उनले प्रष्ट पारे ।
उनले कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे । साथै प्रधानमन्त्री ओली र नेकपा सं‌सदीय दलका उपनेता सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अरु नेताहरुले पनि कांग्रेस नेताहरुलाई भेटेको भन्दै प्रवक्ता शर्माले नेकपाको आन्तरिक द्वन्दमा कांग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो भन्ने भ्रम नछर्न आग्रह गरेका छन् ।