मूल्यवृद्धि विरुद्ध नेविसंघको ज्ञापनपत्र

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा अस्वभाविक मूल्यवृद्धि गरेको भन्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ ।
निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाउँदै संघले ३८ रुपैयाँको पेट्रोल १०१ रुपैयाँमा बिक्री गरी जनता चुस्ने नियत राखेको जनाएको छ। उच्च नाफामा रहेको निगमले गरेको मूल्यवृद्धि न्यायोचित नभएको जनाएको छ।
पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर तत्काल खारेज गर्न समेत माग गरिएको छ। भन्सार शुल्क, सडक मर्मत सम्भार कर, पूर्वाधार विकास कर, प्रदुषण शुल्क, मूल्य स्थितिकरण कोष, मूल्य अभिवद्धि कर, संस्थागत आयकरलगायत शीर्षकमा उठाइएको रकमको औचित्यता पुष्टि गर्न माग गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सामान ढुवानी र खर्च वृद्धि हुने जनाइएको छ। लकडाउनले आम्दानी घट्नुका साथै रोजगारी गुमेको समयमा मूल्यवृद्धि अमानवीय कार्य भएकाले पूर्वअवस्थाकै मूल्य कायम गर्न माग गरिएको छ।
लकडाउनको ३ महिनामा ३ अर्ब रुपैयाँ नाफा गरेको आयल निगमले नाफा संचित गरी मूल्यवृद्धि गर्नु गलत भएको संघले जनाएको छ।