बाह्रबीसे बाढीमा दुईको मृत्यु, २० बेपत्ता
मेलम्ची । गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा २० जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लाने प्रयास भइरहेको छ ।
त्यसै गरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएका छन् । बाढीले त्यहाँस्थित सानो पुलेसा ९कल्भर्ट० समेत बगाएको छ ।
सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् ।
यसैवीच सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसे पुगेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जाने बताइएको छ ।