नेपाली कांग्रेस गुल्मीले पहिरो पीडितहरुलाई राहत प्रदान

गुल्मी । नेपाली कांग्रेसले पहिरो पीडितहरुलाई राहत प्रदान गरेको छ । जिल्लाको इस्मा गाउँपालिका–१ मल्दीमा गत असार १८ गते राति अविरल वर्षासँगै मानविय क्षति हुने गरि आएको पहिरो प्रभावितहरुलाई कांग्रेस गुल्मीले राहत प्रदान गरेको हो । पहिरो पीडितलाई काँग्रेसले १ लाख ५० हजार बराबरको राहत सहयोग गरेको वडाअध्यक्ष चुरा बहादुर खत्रीले जानकारी दिए ।
पहिरो पीडित परिवारलाई त्रिपाल ६१ थान, चामल १२ बोरा, चिउरा ५ बोरा, दाल २ बोरा, चाउचाउ ५५ प्याक, तेल १० लिटर, नुन १० किलो र पानी ४० प्याक लगायतका विभिन्न खाद्य सामग्री सहितको राहत वडा अध्यक्ष खत्रीलाई प्रदान गरिएको हो । मानविय क्षति हुने गरी भएको विपत्तिका कारण सिंगो जिल्लाको सिंगो नेपाली काँग्रेस मर्माहत बनेको भन्दै पर्टी सभापति भुवन प्रसाद श्रेष्ठले दुख व्यक्त गरे ।
मानविय क्षति हुने गरी गएको पहिरोका कारण १८ महिने बालक र ९ वर्षिय बालिकाले ज्यान गुमाउनु परेको दुःखद परिस्थितीलाई स्मरण गर्दै विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुनेगरी स्थापित गर्न सभापति श्रेष्ठले तिनै तहका सरकारलाई आग्रह समेत गरेका छन् ।
प्रभावित क्षेत्रमा तत्कालै भू–गर्भविद्हरुको टोली लिएर अध्ययन गर्न सरकारसँग काँग्रेसले माग गरेको छ । पीडितले भने अहिलेसम्म आफुहरुलाई कुनै निकायले पनि सहयोग नगरेको बताएका छन् । विपद्का बेला स्थानीय सरकार मुखदर्शक बनेको स्थानीयहरुले बताएका छन् ।काँग्रेसले त्यहाँ राहत लिएर पुगेपछि प्रभावित क्षेत्रका पीडितहरु हर्षित बनेका छन् ।
काँग्रेसले यसपछि पनि श्रृङ्खलावद्ध रुपमा राहत प्याकेज ल्याउने श्रेष्ठले घोषणा गरे । असार १८ गते परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका १ को तोरीखर्क, मल्दी, जुकेपानी लगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षती भएको थियो । बाढी पहिरोमा परेर दर्जनौ घरहरु विस्थापित भएका छन् । १ सय ३९ घर अत्यन्तै जोखिममा छन् । पीडामा परेका नागरिकलाई केही भए पनि सहयोग पुगोस् भनेर राहत सहयोग गरेको पार्टी सचिव खिलध्वज पन्थीले बताए ।
राहत प्रदान कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेन, उपसभापति विष्णुप्रसाद बलाल, कोषाध्यक्ष हरिबहादुर केसी, काँग्रेस नेता महेन्द्र भण्डारी, क्षेत्रीय सभापति भगत सिंह खड्का लगायतका काँग्रेस नेताहरुको सहभागिता रहेको थियो ।
राहत प्रदान गर्नको लागि काँग्रसलाई कर्मचारी बचत तथा ऋण सहकारी संस्था, नेपाल निजमति कर्मचारी युनियन (संघ) लगायतका विभिन्न सामाजिक संघ संस्था र विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए ।
यसअघि नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको ध्यानाकर्षण समेत गराएको थियो । विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शर्मालाई पहिरो प्रभावित क्षेत्रहरुको प्रत्यक्ष अवलोकन गर्न समेत माग गरेका थिए ।