थप ७० जनामा कोरोना संक्रमण, १६ हजार ७१९ पुगे संक्रमित

काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए अनुसार आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सिरहाका १, सुनसरी र उदयपुरका ४/४ जना छन् ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धादिङका २, काठमाडौंका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा कोरोना पुष्टि भएको छ।
भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा सिन्धुली र रौतहटका १/१, पाटन अस्पताल ललितपुरमा धादिङ, पर्वत र स्याङ्जाका १/१ जनामा कोरोना भेटिएको छ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ३, तनहुँका ४, स्याङ्जाका ३ र म्याग्दीका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १ जना छन् भने भेरी अस्पताल नेपालगञ्जमा बाँके, बर्दिया र दाङका २÷२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ३, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा रुकुम पश्चिमका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना भेटिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका २, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका १ र कञ्चनपुरका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।

हाल ८ हजार २ सय ३९ जनाको उपचार भइरहेको जानकारी डा गौतमले दिए ।
पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ८ हजार ४४२ पुगेको छ । थप तीन जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।