नेपालविरुद्ध भारतीय सञ्चारमाध्यमहरुको तल्लोस्तरको हर्कत
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्दै भारतका केही सञ्चारमाध्यमहरुले अशिष्ट, अभद्र एवं अमर्यादित शैलीमा विभिन्न सामग्रीहरु प्रकाशित गरेपछि नेपालमा त्यसबारे अनेकौ प्रतिक्रिया आएको छन् ।
पत्रकारको काम सत्य खोतल्ने हो तर मिथ्या कुराको दुष्प्रचार गर्दै नेपाललाई प्रतिशोध लिन खोज्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको व्यवहारले कूटनीतिमा समेत क्षति पुर्याउने वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञहरु बताउँछन् ।
विद्युतीय र छापा माध्यमलगायत सामाजिक सञ्जालहरुमा समेत प्रधानमन्त्री केपी ओलीलाई गाली गर्ने वहानामा भारतीय पत्रकारहरुले नेपालमा चिनियाँ प्रभाव बढ्न थालेको र नेपालका प्रधानमन्त्री र काठमाडौंस्थित चिनियाँ राजदूत हाउ यान्छीबीच गहिरो प्रेम सम्वन्ध रहेको आरोप लगाएर अत्यन्त भ्रामक र निन्दनीय कार्य गर्दा पनि भारत सरकारले त्यस्ता सञ्चारमाध्यमहरुलाई कारवाही नगर्नुले भारतको कूटनीतिमा समेत प्रश्न उठेको छ ।
भारतले मिचेको आफ्नो भूमिलाई समेटेर संसदबाट नयाँ नक्सा पारित गराएपछि प्रधानमन्त्री ओलीको विरोध गर्दै भारतीय सञ्चारमाध्यमहरुले अनेकौ सामग्री प्रचारप्रसार गरेपनि नेपालले त्यसको गतिलो जवाफ दिन सकेको देखिदैन ।
हालै भारतीय सञ्चारमाध्यमहरुले नेपालका प्रधानमन्त्री चिनियाँ राजदूतका हनी ट्रयापमा परेको आरोप लगाएका छन् । भारतीय सञ्चारमाध्यमहरुले सिङ्गो नेपालको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतामाथिको नाङ्गो आक्रमण गरेकाले यस्तो क्रियाकलापलाई किमार्थ स्वीकार्न नसकिने कूटनीतिज्ञहरुले बताएका छन् ।
नेपालको आन्तरिक मामिलामा भारतको संस्थापन पक्षले हस्तक्षेप गर्दै आएको छ भने भारतीय मिडियाहरुले नेपाल र नेपालीको मानमर्दन गर्दै अनर्गल प्रचार गर्दै आएका छन् । भारतीय मिडियाहरु बौद्धिकता शून्य देखिएका छन् भने झुटो प्रचारमा अब्बल देखिएका छन् । उनीहरुको हर्कतले भारतको वेइज्जत र विश्वको पत्रकारिता क्षेत्र नै वद्नाम हुने चिन्ता केही भारतीय पत्रकार तथा राजनीतिज्ञहरुले पनि व्यक्त गरेका छन् ।
नेपालको विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि राजनीतिक र कानुनी उपचार खोज्ने सरकारले जनाएको छ । पछिल्ला दिनमा नेपालको सार्वभौमसत्ता र अखण्डताको विषयमा अनर्गल प्रचार गर्दै आएका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओली विरुद्धसमेत पत्रकारिताको सामान्य सिद्धान्तसमेत बिर्सेर गलत प्रचार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकारले भत्सर्ना गर्ने बताए ।
सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको स्पष्ट पार्दै मन्त्री डा खतिवडाले भारतीय सञ्चारमाध्यमको गलत प्रचारको विरुद्धमा कूटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने उल्लेख गरेका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय टेलिभिजनमा प्रसारित समाचार सामग्रीबारे प्रवक्ता खतिवडाले स्पष्ट शब्दमा भने ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीको स्वाभिमानमा आँच पु¥याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गर्छौँ । यसका पछाडि कानुनी उपचार खोज्नुपर्ने कुराहरू पनि हुन्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।’
पछिल्ला दिनमा भारतीय टेलिभिजनले नेपालको आन्तरिक मामिलालाई लिएर गलत प्रचारप्रसार गरिरहेपछि नेपाल पत्रकार महासङ्घ, प्रेस संगठन नेपाल, प्रेस युनियनलगायतका संघसंस्थाले पनि विज्ञप्ति मार्फत भारतीय सञ्चारमाध्यमहरुको प्रचार असत्य, भ्रामक र कपोलकल्पित भएको जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले त्यसको भत्र्सना गरेको छ ।
‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ’, महासङ्घद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।
ओलीका आलोचकहरुले समेत भारतीय सञ्चारमाध्यमहरुको व्यवहार चित्त बुझ्दो नभएको जनाएका छन् । धेरैजसोले नेपालले त्यस्ता विषयमा कडा रुपमा दिल्ली समक्ष विरोध जनाउनु पर्ने सुझाव दिएका छन् ।
नेपालले स्वदेशी र विदेशी च्यालनको अनुमति पाएका अप्रेटरहरुलाई प्रयोग गरेर झण्डै २५ वटा भारतीय न्युज च्यानल प्रशारणमा रोक लगाएपनि त्यसले नेपालप्रति विष वमन गर्ने प्रवृत्ति रोकेका छैनन् । युट्युवलगायत विभिन्न माध्यम र प्रिन्ट मिडियाबाट समेत वैचारिक आलोचना र आक्रमण भइरहने हुँदा त्यस्तो अवस्थामा सरकारले आफ्नो नीति स्पष्ट गर्दै कूटनीतिक माध्यमबाट भारत समक्ष कडा प्रतिक्रिया व्यक्त गर्नुपर्ने माग सर्वत्र उठेको छ ।
सरकारी वाहेक सवै भारतीय च्यानल बन्द
नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओहरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकहरूलाई आग्रह गर्दै आएका थिए ।
डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतले सामूहिक रुपमा आजतक, जीन्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार, सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको हो ।
प्रबन्ध निर्देशक आचार्यले भारतीय च्यानलमा नेपालविरोधी ‘कन्टेन्ट’ प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रुपमा भारतीय च्यानल बन्द गरिएको बताएक छन् । उनले युट्युबलगायत इन्टरनेटका माध्यमबाट आउने नेपालविरोधी सामग्री रोक्न सरकारले विशेष पहल थाल्नुपर्ने समेत बताएका छन् ।