कांग्रेस किन बन्दैछ कमजोर ?
काठमाडौं । नेपाली कांग्रेस दिनप्रतिदिन कमजोर बन्दै गएको सोही पार्टीका नेताहरुले स्वीकार गरेका छन् । नयाँ पुस्ता पार्टीमा आकर्षित नहुनु र पुरानाहरुको सक्रियता घट्दै जानु पार्टी कमजोर हुनुको प्रमुख कारण रहेको उनीहरुले स्वीकारेका छन् ।
वडातहदेखि केन्द्रसम्म संगठन भएपनि नेपालको सबैभन्दा पुरानो पार्टी किन अलोकप्रिय, शिथिल र दिग्भ्रमित हुँदैछ भन्ने बारेमा गम्भीर विश्लेषण हुनुपर्ने देखिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका कमीकमजोरीमा दह्रोसँगले कुरा उठाउन सकेको देखिदैन । विरोधका लागि विरोध गर्ने प्रवृत्ति मात्र बढेको भन्दै कांग्रेसकै कतिपय नेताले जनभावना अनुसार पार्टी चल्न नसकेको बताइरहेका छन् । कांग्रेसले प्रतिपक्षीको भूमिका नेकपाका ओलीविरोधी नेताहरुले जति पनि निर्वाह गर्न नसकेको आरोप लागेको छ ।
उदाहरणका लागि नागरिकता विधेयक जस्तो गम्भीर विषयमा जनकपुरका विमलेन्द्र निधि र दार्चुलाका दिलेन्द्रप्रसाद वडु जस्ता पार्टीमा लामो समयदेखि योगदान गर्दै आएका नेताहरुको धारणा फरकफरक आयो । वडुले अंगीकृत नागरिकता जस्तो सम्वेदनशील विषयमा खेलाची गर्न नहुने तर्क गरे । तर जसरी भएपनि विवाह गर्ने वित्तिकै विदेशी महिलालाई नेपाली नागरिकता दिनुपर्छ भन्दै निधिले तर्क गरे । पार्टीले नागरिकता दिने विषयमा महिला र पुरुषमा विभेद गर्नु नहुने निर्णय गर्यो । तर पार्टीको आधिकारिक धारणामै नेताहरु एकमत छैनन् भन्ने सन्देश गयो ।
तराईका सबै नेता, कार्यकर्ता निधिझै राष्ट्रियहितलाई उपेक्षा गर्ने खालका छैनन् । उनीहरुलाई थाहा छ, राष्ट्र कमजोर भयो भने अनागरिकहरुले नेपाली नागरिकको भेषमा जे पनि गर्न सक्छन् । २००७ सालको क्रान्तिमा ठूलो योगदान गरेर राजनीतिमा क्रियाशिल रहेका नेताहरुलाई बिर्सिदै नेपाली कांग्रेसले संस्थापक नेताहरुकै मार्गदर्शन विरुद्ध अवसरवादी पार्टीका रुपमा आफूलाई अघि बढाउँदै गयो । गणेशमान सिंहदेखि लिएर कृष्णप्रसाद भट्टराईले समेत पार्टी परित्याग गरे । सिद्धान्तहीन प्रवृत्ति बढेको उनीहरुको आरोप थियो ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति भएपछि नेपाली कांग्रेसले लोकप्रियता गुमाउँदै गयो । राष्ट्रलाई आत्मनिर्भर गराउन कैयन उद्योग, कलकारखाना बेचेर निजीकरणका नाममा कांग्रेसले पचासौ हजार नेपालीलाई प्रत्यक्ष र परोक्ष रुपमा वेरोजगार बनायो ।
यस्तै परराष्ट्र नीति एवं राष्ट्रहितका विभिन्न पक्षमा स्पष्ट हुन नसक्दा पार्टीले अहिले पनि क्षति व्यहोरिरहेको छ । आउँदो फागुन ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन हुँदैछ । त्यसबेला पार्टीले लिएका नीति र सिद्धान्तबारे चर्को वहस हुने सम्भावना देखिन्छ । तर पार्टीको केन्द्रीय सभापति पदमा आउने नेतृत्व र अन्य नेताहरुको आचरण र व्यवहारमा देशभक्ति नदेखिएसम्म पार्टी लोकप्रिय हुँदै जाने सम्भावना नदेखिने कार्यकर्ताहरु नै बताउँछन् ।
महाधिवेशन नजिकिदै जाँदा नेताहरु आआफ्नो पक्षको रणनीति बनाउन लागेका छन् । सभापति शेरबहादुर देउवा र उनका आलोचकहरुको छुट्टाछुट्टै वैठकले त्यस्तो रणनीति बनाएको पार्टीका नेताहरुले जनाएका छन् । देउवा निवास वुढानिलकण्ठमा बसेको वैठकमा आउँदा दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने र महाधिवेशनमा देउवालाई कसरी बलियो बनाउने भन्ने बारेमा उनीहरुले छलफल गरेका थिए ।
यस्तै पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास ठमेलमा बसेको वैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, अर्जुनरसिंह केसीलगायतका नेताले देउवाको विकल्प खोज्नुपर्छ भन्दै छलफल गरेपनि महाधिवेशनमा सभापतिका रुपमा कसलाई अगाडि बढाउने भन्ने निर्णय गरिसकेका छ्रैनन् ।