आईजीपी थापाका चुनौती र अवसर
काठमाडौं । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं आईजीपी भएका छन् । २२ महिनाका लागि थापा आईजीपी भएका हुन् । उनका सामु थुप्रै चुनौती र अवसर देखिएका छन् । थोरै अवधिका लागि उनी आईजीपी भएपनि उनले चाहेमा धेरै सुधार गर्न सक्छन् । उनीले नेपाल प्रहरीमा धेरै सुधार गर्न सक्ने आशा पनि गरिएको छ ।
प्रहरी प्रशासन र नीति निर्माणमा दक्ष मानिएका थापालाई उनका समकक्षी रहेका साथीहरुले समेत मद्दत गर्ने प्रतिवद्धता जनाइसकेका छन् । राजनीतिक दवाव र प्रभावबाट मुक्त राखेर नेपाल प्रहरीलाई सही ढंगमा अघि बढाउन सके भने आईजीपी थापाको कार्यकाल एउटा माइलस्टोन सावित हुन सक्ने देखिन्छ ।
विभिन्न जिल्लाका कमाण्ड सम्हाल्नुका साथै महानगरीय प्रहरी कार्यालय रानीपोखरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र आईजीपीको सचिवालयमा बसेर काम गरिसकेका र नेपाल प्रहरीको प्रवक्ता समेत भएका थापाले अन्तर्राष्ट्रिय शान्ति मिसनमा समेत काम गरेर अनुभव हासिल गरेका छन् । उनले प्रहरी संगठनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उज्यालो बनाउँदै जाने अपेक्षा नेपाल प्रहरीभित्रैबाट गरिएको छ ।
सवेन्द्र खनाल आईजीपी भएर आउँदा पनि नेपाल प्रहरीका अधिकृत र जवानहरुले धेरै आशा गरेका थिए । तर राजनीतिक दवाव, प्रहरी भित्रको भ्रष्टाचार, कमिशनतन्त्र, गुटबन्दी आदि कारणले उनले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनन् । तसर्थ शैलेशले पनि खनालको नियति भोग्नु नपरोस भन्ने नेपाल प्रहरीका पुराना अधिकृतहरुको धारणा पाइन्छ ।
उनका सामुन्ने थुपै्र चुनौतीहरु देखिएका छन् । नयाँ प्रविधि मार्फत अपराध बढ्न सक्ने सम्भावना रहेकाले आउँदा दिनहरुमा नेपालमा पनि सुरक्षा प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने वाध्यता छ । गलत सूचना र साइवर हमलाको सबैभन्दा कडा प्रहार भोगिरहेका कमविकसित राष्ट्रहरुको पीडा बढ्दै गएको अवस्था छ ।
डिजिटल माध्यमबाट राम्रा र नराम्रा दुवै काम सम्पन्न गर्न सकिने हुँदा प्रचलित कानूनलाई चुनौती दिदै अपराध गर्नेहरुले उच्चतम् साधनस्रोत भएका सुरक्षा अंगहरुलाई समेत तिरिमिरि झ्याई बनाइरहेका छन् ।