दम्पती हत्याका फरार मुख्य अभियुक्त १४ वर्षपछि पक्राउ


काठमाडौं । सीतापाइलाका एक दम्पतीको हत्या गरी फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस–८ का ४५ वर्षीय नातीकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको २०६३ पौष २० गते हत्या भएको थियो ।
धारिलो हतियार प्रहार गरी दम्पतीको हत्या गरेर फरार रहेका सोही मिलमा काम गर्ने सर्लाहीका जय किशोर साह र बाँकेका प्रताप रानामध्ये साहलाई आइतबार बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि बिधि अपनाएर ती मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
प्रहरीका अनुसार सः मिलका मालिकले काम बिगारेको भनी गाली गरेको विषयलाई लिएर उनीहरुले सुवेदी, उनकी श्रीमती र छोरालाई धारिलो हतियारले आक्रमण गरेका थिए । आक्रमण गर्ने दुवै अभियुक्त भोर भारतको लखनऊ गई दुई वर्षसम्म सँगै बसेको र प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली बसेको पाइएको प्रहरीले जनाएको छ ।
उक्त घट्नामा गम्भीर घाइते भइ बाँच्न सफल (तत्कालको समयमा १५ वर्षका) विलभ सुवेदीसँग निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि भई अन्ततः सुवेदी दम्पती हत्याका मख्य अभियुक्तसम्म पुग्न र निजलाई पक्राउ गर्न सीआईबी सफल भएको र फरार रहेका अर्का अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरी कारवाहीको दायरा ल्याउने सीआईवीले जनाएको छ ।