आगामी दिनमा तरलता संकुचनको भय
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक वर्ष २०७७÷७८ मा लगानी योग्य पुँजी (तरलता) को अभाव हुन सक्ने विषयमा ध्यान दिई तरलता संकुचन हुनबाट अर्थतन्त्रलाई बचाउन जोड दिनु पर्ने कुरा बैंकिङ विज्ञ अनलराज भट्टराईले बताएका छन । तरलताको विषयमा मौद्रिक नीतिले ध्यान दिनुपर्छ, हाल कोरोनाको कारण अधिक तरलता देखिएता पनि यो कोरोनाको त्रास कम हुनासाथ नेपालका बैंक तथा वित्तिय क्षेत्रहरुमा तरलताको अभाव हुने भट्टराईको दावी छ
बैंकहरु १ खर्ब ६६ अर्ब रुपैयाँ भन्दा धेरै तरलता पुग्दा हर्षित भै हाल्नुपर्ने स्थिति छैन । अहिलेको यो तरलता खासै केही होईन । यतिमै खुशि हुनु भनेको भोली आउन सक्ने परिस्थितिलाई कुनै प्रक्षेपण गर्न नसकेको ठहर्न सक्छ तसर्थ मौद्रिक नीति अहिले समसामयिक आर्थिक अवस्थाले पार्न सक्ने प्रभावलाई न्युनिकरण गर्ने ढंगबाट तय गर्नु पर्ने कुरामा बैंकिङ विज्ञ भट्टराईले जोड दिएका छन । माग र आपुर्तिको समस्याले व्यापार व्यवसायहरुमा नगद प्रवाहको समस्या छ । बैंकले तरलता छ भन्दैमा कर्जा दिइहाल्न पनि सोचेजति सजिलो छैन । अहिलेको अवस्थामा लगानी त्यति सहज छैन । कर्जा लिएर पनि राम्रो प्रतिफल पाउने क्षेत्रमा लगानी गरिहाल्न लगानी कर्तालाई डर छ । नयाँ कर्जा लगानी गर्ने भन्दा पनि लगानीमा रहेको कर्जाको व्यवस्थापमा बैंकले ध्यान दिनु पर्छ ।
नेपालमा रहेका बैंकहरु एकदमै सानो भएको भन्दै उनले मुलुकको अर्थतन्त्र र बैंकिङ क्षेत्रलाई बलियो बनाउन आ.व २०७७÷७८ को मौद्रिक नीति ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने खालको हुनु पर्ने बताए । त्यस्ता बैंकहरुलाई फोर्स गरेर नभई प्रोत्साहन गरेर, सहुलियत दिएर मौद्रिक नीतिले मर्जरमा लैजानु पर्दछ । अहिले विगतको जस्तो नियन्त्रण मुखि मौद्रिक नीति भन्दापनि वातावरण अनुकुल बन्नु पर्ने देखिन्छ । यस विषयमा नेपाल राष्ट्रबैंकले विज्ञहरुको सुझाव सल्लाहलाई अनुसरण गर्दै यि आउन सक्ने समस्यालाई सम्बोधन गरेर मोद्रिक नीति अवलम्बन गरोस् ।