कांग्रेसमा गुटबन्दी बढ्दै
काठमाडौं । नेपाली कांग्रेसमा फागुनमा महाधिवेशन गर्ने निर्णय भएपछि विभिन्न गुटका छुट्टाछुट्टै वैठक बसिरहेको देखिन्छ । शेरबहादुर देउवालाई हटाएर उनको ठाउँमा नयाँ नेतृत्व आउनुपर्ने भन्दै देउवा विरोधीहरूले गृहकार्य गरिरहेका छन् । तर कृष्ण सिटौला, शेखर कोइराला, रामचन्द्र पौडेल, शशांक कोइराला जस्ता नेताहरू आफ्नै दुनो सोझ्याउन खोजिरहेका छन् । उनीहरूले देउवाको विकल्प खोजेपनि उनको विकल्पको पात्र रोज्न सकेको छैनन् ।
असार २२ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति वैठकले तल्लो तहका सवै अधिवेशनहरू टुंग्याउने र साउन १० गते भित्र आन्तरिक समायोजन मिलाउने भने पनि नेताहरूको आन्तरिक झगडाले सबै काम सहज रुपमा भएको देखिदैन ।
पहिले घोषणा गरिएको कार्यतालिकामा कात्तिक १६ गतेबाट वडास्तरका अधिवेशन गरेर मंसिर २९ सम्म प्रदेश स्तरको अधिवेशन सक्नुपर्ने भनिएको थियो । तर कृयाशिल सदस्यता कसरी वितरण गर्ने भन्नेमा कुरा नमिल्दा विवाद कायमै छ ।
पछिल्लो तालिकामा पार्टीका विभिन्न तहका अधिवेशनहरू माघ ६ गतेसम्ममा सक्नै पर्ने भनिएको छ । कांग्रेसको विधानमा प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने उल्लेख छ । स्थानीय तहदेखि संसदीय निर्वाचनसम्म आइपुग्दा आपसी गुटबन्दीले नै परास्त भएको कांग्रेसले अहिले पनि पाठ सिक्न सकेको देखिदैन । तसर्थ महाधिवेशन पछि पनि सो पार्टीले गति लिन सक्ला भन्नेमा कैयन नेता, कार्यकर्ताहरू अझै पनि ढुक्क देखिदैनन् ।
नेपाली कांग्रेसभित्र महाधिवेशनको तयारीसँगै गुटबन्दीको नयाँ अध्याय शुरु हुने देखिएको छ । यो हप्ताका सञ्चारमाध्यमहरूले शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच महाधिवेशनकै कारण थप तनाव बढेको टिप्पणी गरेका छन् ।
अनुशासन समितिले पनि पार्टीको विधान मान्नुपर्छ भन्ने रामचन्द्र पौडेलको तर्क छ । अनुशासन समितिको हतियार प्रयोग गरेर देउवाले आफ्ना विपक्षीहरूलाई कारवाही गर्ने सम्भावना बारे सतर्क हुँदै देउवाका विरोधीहरूले सो समितिको दुरुपयोग गर्न नहुने तर्क गरिरहेका छन् ।
त्यस्तै सभापति देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।
सभापति देउवाले महाधिवेशनको ६ महिनाभित्र मनोनयन नियुक्ति गर्नुपर्ने पदमा महाधिवेशनको तयारी सुरु भएसँगै गरेको भन्दै उनीहरूले उजुरी दिएका हुन् ।
पार्टीका विभागलाई २८ बाट बढाएर ४३ पु¥याए पनि अहिलेसम्म केहीमा मनोनयन हुन सकेको छैन । बाँकी विभागमा देउवाले नियुक्ति प्रक्रिया अघि बढाएपछि उनी इतर समूहले आपत्ति जनाएको हो ।
बुधबार पौडेल पक्षको गुट भेलाले सभापति देउवाले महाविधेशनलाई प्रभावित पार्ने काममा लागेको भन्दै त्यसका विरुद्ध आवाज उठाउने निर्णय गरेको थियो । कांग्रेसको १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय भएको छ ।
कांग्रेस निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीलाई बुझाएको उजुरी पत्रमा लेखिएको छ, ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन आदरणीय पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
आचारसंहिता विपरितका कामहरू सभापति र उनका विपक्षी दुवैले गरेको देखिन्छ । तर तटस्थ भएर निर्णय गर्ने अवस्था देखिदैन । दुवै पक्षले आफू सही र अरु गलत भनिरहेका छन् । कुनै गुटमा नभएका केही नेता र कार्यकर्ता नेपाली कांग्रेस तीन तहको चुनावमा परास्त हुनुमा गुटबन्दी नै प्रमुख कारण हो भनिरहेका छन् । अझै नेतृत्व नसच्चिए पार्टी धरासायी हुने भन्दै उनीहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।