सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय गरेको विरोधमा गुल्मीमा भारतीय पेन्सनवालाहरुले विरोध


गुल्मी, साउन ०५ । नेपाल सरकारले पेन्सनवालाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय गरेको विरोधमा गुल्मीमा भारतीय पेन्सनवालाहरुले विरोध जनाएका छन् । नियमितरुपमा विभिन्न सेवा सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्थाको विरुद्ध अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ गुल्मीले विरोध जनाएको हो ।
आइतबार प्रेस विज्ञप्ति मार्फत सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय न्यायपूर्ण नभएको जनाएको छ । नेपाल सरकारले गत असार १८ गते पेन्सनवालाहरुले दोहोरो सुविधा लिएको भन्दै सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयको स्थानीयतहरुमा पत्रचार गरेको थियो ।
संघका अध्यक्ष तोय नारायण ज्ञवाली र सचिव पुर्ण बहादुर गुरुङ्गद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सरकारले विदेशी पेन्सनरहरुलाई अन्यायपुर्ण र अवहेलना हुने गरी निर्णय गरेको उल्लेख छ । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत ज्ञापनपत्र बुझाउँदै यो निर्णय अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । सरकारको निर्णय विभेदकारी भएको भन्दै अविलम्ब फिर्ता लिई आफूहरुको सामाजिक सुरक्षाको हकको ग्यारेण्टी गर्नु पर्ने बताइएको छ ।
नेपाल सरकारले गत असार १८ गते पेन्सनवालाहरुले दोहोरो सुविधा लिएको भन्दै सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयको पत्रचार गरेको थियो । विज्ञप्तिमा स्वदेशमा रोजगारी सिर्जना हुन नसक्दा नेपालीहरु विदेशी भूमिमा श्रम बेच्न बाध्य भएको र पहिलो र दोश्रो विश्वयुद्ध, कार्गिल युद्ध लडेको र कैयौं नेपालीहरुले बलिदानि दिएको उल्लेख छ ।
अवकाशपछि स्वदेशमा आई सामाजिक र राजनैतिक क्षेत्रमा समेत योगदान पु¥याउँदै आएका र पटक–पटक राजनैतिक परिवर्तनको आन्दोलनमा योगदान पुर्याएको उल्लेख छ । ज्ञापनपत्रमा अर्थ मन्त्रालय, अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपाल, काठमाडौंलाई बोदार्थ समेत दिइएको छ । त्यस क्रममा प्रजिअ शर्माले ज्ञापनपत्र सम्बन्धित स्थानसम्म पुर्याउने बताएका थिए ।